शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • शिक्षा
  • त्रिविबाट साढे ७३ हजार विद्यार्थी दीक्षित, विश्व रेकर्ड कायम गर्ने दाबी

त्रिविबाट साढे ७३ हजार विद्यार्थी दीक्षित, विश्व रेकर्ड कायम गर्ने दाबी

  • सोमवार, पुस २, २०८०
त्रिविबाट साढे ७३ हजार विद्यार्थी दीक्षित, विश्व रेकर्ड कायम गर्ने दाबी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

दीक्षित हुने विद्यार्थी गाउनमा सजिएर अभिभावकसँगै समारोहस्थलमा आएका थिए । विद्यार्थी, अभिभावकको भीडभाडले त्यसक्षेत्रको ट्राफिक व्यवस्था भने प्रभावित भएको थियो ।

गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको छ । यस पटक भने त्रिविले विश्व रेकर्ड कायम गर्ने दाबीसमेत गरेको छ । विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा दावी प्रस्तुत गर्न गिनिज बुक अफ वल्ड रेकर्डमा आवेदन दिएको जोशीले बताए ।

गिनिज बुकका प्रतिनिधिले समारोहस्थलमै उपस्थित भएर मूल्याङ्कन गरेको उनले जनाए । उपकुलपति शिवलाल भुषालले ठूलो संख्यामा विद्यार्थी दीक्षित गरे पनि गुणस्तरमा कमी नआएको दाबी गरे । ‘देशभित्रका विभिन्न विधामा कार्यरत होस् वा विदेशमा अध्ययन र रोजगारी वा वैज्ञानिक खोज अनुसन्धानका क्षेत्रमा किन नहोस् । त्रिविको उत्पादनले आफूलाई अब्बल सावित गरिरहेकोमा हामी गौरवान्वित छौं,’ उनले भने ।

स्वदेशमा उपयुक्त रोजगारीको अभावका कारणले मात्र विद्यार्थी विदेश पलायन हुने गरेको उपकुलपति भुसालले जनाए । त्रिविले उत्कृष्ट विदेशी विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक कार्यक्रम अघि बढाउने उनले बताए । विश्वविद्यालयले छिट्टै साइबर सेक्युरिटी, योग विज्ञान, आयुर्वेद विज्ञान, ‘माउन्टेन टुरिज्म’ र ‘माउन्टेन साइन्स’ जस्ता विषयमा नयाँ कार्यक्रम सुरु गर्ने उनले घोषणा गरे ।

चर्चामा

सम्बन्धित समाचार