शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरासहित सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी भेगमा वर्षासँगै हिमपात 

बाजुरासहित सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी भेगमा वर्षासँगै हिमपात 

  • सोमवार, मंसिर १८, २०८०
बाजुरासहित सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी भेगमा वर्षासँगै हिमपात 
बाजुराकाे गाैमुल १ अम्लिसमा परेको हिउँ । फोटो : रमित विक

बाजुरा —बाजुरासहित सुदूरपश्चिमका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । बाजुराका उच्च हिमाली भेग गाैमुल, बुढिन्नदा, हिमाली लगायतका स्थानमा हिमपातसहित बर्षा भइरहेकाे बताइएकाे छ ।

कर्णाली र लुम्बिनी प्रदेशका केहि जिल्लामा हिमपात र वर्षा पनि भएको छ । त्यस्तै हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ । मौसमविद सरोज पुडासैनीले अनलाइनखबरसँग भने, ‘पश्चिमी वायुको प्रभावले हल्का हिमपात र हल्का वर्षा भइरहेको हो ।’ यसको प्रभाव आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको उनले बताए ।

मौसमविदका अनुसार गण्डकी र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ । कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली छ भने मधेश प्रदेश र कोशी प्रदेशको दक्षिणी भूभागमा मौसम सफा छ ।

काठमाडौं उपत्यकामा कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेको छ । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ तर पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद पुडौसैनीले बताए ।

चर्चामा

सम्बन्धित समाचार