शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • शिक्षा
  • भूकम्पले विद्यालय भवन क्षति हुँदा खुला चौर र टेन्टमा पठनपाठन

भूकम्पले विद्यालय भवन क्षति हुँदा खुला चौर र टेन्टमा पठनपाठन

  • बुधबार, मंसिर ६, २०८०
भूकम्पले विद्यालय भवन क्षति हुँदा खुला चौर र टेन्टमा पठनपाठन

सल्यान — जाजरकोटलाई केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते शुक्रबार राति आएको भूकम्पका कारण दार्मा गाउँपालिकामा विद्यालय भवन बस्नै नमिल्ने गरी क्षति भएपछि मावि, निमावि र प्रावि गरी नौ विद्यालयका बालबालिका खुला चौर र टेन्टमा पढ्न बाध्य भएका छन् ।

भूकम्पले क्षति पुर्‍याएको भवन तत्काल मर्मत तथा पुनर्निर्माणको सम्भावना नभएको र कक्षाकोठामा समेत बसेर पढन सक्ने अवस्था नभएपछि विद्यार्थी खुला चौर तथा टेन्टमा बसेर पढ्न बाध्य भएका हुन् ।

दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रोमु पाण्डेका अनुसार भूकम्पले पालिका भरी १ हजार १ सय बस्नै नमिल्ने र १ हजार बढी आशिंक गरी २ हजार बढी घर क्षति पुर्‍याएको थियो । पालिकाका विभिन्न स्थानमा रहेको २१ विद्यालयमा क्षति पुगेको थियो । ९ वटा कक्षा सञ्चालन गर्न नमिल्ने र १२ आशिंक क्षति भएका छन् ।

अहिले नौ विद्यालयका बालबालिका खुला चौर र टेन्टमा पढ्दै आएका छन् । दार्मा गाउँपालिका भरी ३४ विद्यालय छन् । जसमा ६ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् भने २ हजार ५ सय बालबालिका प्रत्यक्ष प्रभावित भएका छन् ।

भूकम्पले भवन क्षति पुर्‍याएपछि अहिले पालिकाले विद्यालयमा ६ वटा टेन्ट निर्माण गरेको र त्यसमा बालविकास, कक्षा १, २ र ३ का २ सय विद्यार्थी पढ्दै आएका र कक्षा १२ का १ सय ५० विद्यार्थी खुला आकाशमुनि नै पढ्दै आएका जनज्योति मावि फारुलाका प्रधानाध्यापक मीनबहादुर ओलीले बताए ।

खुला आकाश र टेन्टमा फर्निचर राख्न नमिल्ने भएकाले म्याटमा बस्नु पर्दा जमिनबाट आउने चिसोले बालबालिका प्रभावित भएका उनले जानकारी गराए । ‘बालबालिकाको पठनपाठन प्रभावित नहोस भनेर वैकल्पिक रुपमा कक्षा सञ्चालन गरियो तर नाम मात्रको छ,’ उनले भने, ‘लेख्नका लागि बोर्ड, लगायतका सामग्री छैन, एकातिर पढाएको अर्कोतिर आवाज आउने भएकाले बालकालिकाको ध्यान पढाइमा खासै छैन । पढाउनु, नपढाउनु बराबर छ।’ बालविकासदेखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा १ हजार ६ सय विद्यार्थी रहेकामा १ हजार ३ विद्यार्थी चर्किएको भवनको कक्षाकोठामा बसेर पढदै आएका उनको भनाइ छ ।

नवचेतना प्रावि मूलपानीका प्रधानाध्यापक धनराज खडकाले कक्षा ५ सम्म सञ्चालित विद्यालयको एक भवन भूकम्पका कारण क्षति भएपछि अहिले ४ र ५ का ३० बढी विद्यार्थी खुला चौरमा बसालेर पढाइएको बताए । कक्षा ५ सम्म सञ्चालित विद्यालयको १, २ र ३ का सय बालबालिका भने चर्केको कक्षाकोठामा बसेर पढिरहेका उनले बताए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीले भूकम्पपीडितको लागि भन्दै ५० थान घर आकारको टेन्ट आएको र वडा कार्यालय र स्वास्थ्यचौकीमा जडान गर्दा नौ विद्यालयमा ४० वटा मात्र जडान गर्न सकिएको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार