बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • समृद्धिको आकांक्षा पूरा गर्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

समृद्धिको आकांक्षा पूरा गर्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

  • मङ्लबार, अशोज ३०, २०८०
समृद्धिको आकांक्षा पूरा गर्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको उद्घाटन गर्दै नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्न गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताए । विश्वको जुनसुकै कुनामा पुगेर रहेपनि नेपाली नेपाली नै हुने उनको धारणा छ ।

राष्ट्रपति पौडेलले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको भन्दै नेपालमा लगानी गर्न समेत आग्रह गरे । ‘नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको छ, वास्तवमा विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली नेपाली नै हो,’ राष्ट्रपति पौडेलले भने ।

उनले नेपाल अब आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रीत रहने बताए ।

‘एकातर्फ नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन्,’ राष्ट्रपति पौडेलले भने, ‘यसबीच नेपालको आन्तरिक उपभोगका साथै क्रयशक्ति समेत दिनानुदिन बढिरहेको छ । यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रीत भएको छ । यसका लागि बुहपक्षीय साझेदारीता अत्यावश्यक तत्व हो । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ ।’

राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीहरूलाई नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न आग्रह गरे ।

‘नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ । नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ,’ उनले भने ।

पौडेलले गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्न सरकारले विभिन्न कानूनी प्रबन्धहरू गरेको बताए ।

‘संविधानमै गैरआवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट तपाईंहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक हो ।

यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन् । प्रकृति र संस्कृतिको यो अनुपम संगमलाई जोगाउँदै देश र जनताको हित प्रवर्द्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य हो ।’

चर्चामा

सम्बन्धित समाचार