• होमपेज
  • देश
  • हवाई भाडामा एयरलाइन्स कम्पनीको मनपरी, धनगढी पुग्न १७ हजार

हवाई भाडामा एयरलाइन्स कम्पनीको मनपरी, धनगढी पुग्न १७ हजार

  • आइतवार, अशोज २८, २०८०
हवाई भाडामा एयरलाइन्स कम्पनीको मनपरी, धनगढी पुग्न १७ हजार

धनगढी— दसैंको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल पर्छ। पाए पनि साविकको भन्दा ६ हजार बढीले टिकटको मुल्य बढाइएको छ।

चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर भए पनि हवाई टिकट पाउन सास्ती हुने गरेको हो। गत वर्षको दसैंमा १७ हजार ६ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका बसन्तराज जोशीलाई यो वर्ष महङ्गोमै भए पनि टिकट लिएर घर पुग्न सकस भएको हो। दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ।

धनगढीकी निशा पाण्डे पनि दसैंको टिकट जोहोका लागि एयरलाइन्स धाएकी हुन्। अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउन्टरमा पनि टिकट नपाएर हैरानी खेप्नु परेको पाण्डेको गुनासो थियो। दसैंमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो। अझ प्रभावकारी यातायातका रुपमा हवाईसेवालाई लिइन्छ।

बुद्ध एयरका अनुसार दसैंको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैंका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ रहेको छ। उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपैयाँ छ। सहुलियत भाडादरको टिकट सकिएपछि अधिकतम भाडादर तिर्नु पर्दा मंहगो पर्न गएको एयरलाइन्स कम्पनीहरुको दाबी छ।

पुरानै मूल्यमा हवाई इन्धन पाए पनि एयरलाइन्सहरूले मनपरी रुपमा भाडा असुल्दै आएका हुन्। बुद्ध एयरको काठमाण्डौँ–धनगढी सहुलियत भाडादर ११ हजारदेखि १७ हजार दुई सयसम्म भाडा निर्धारण गरिएको कम्पनीले जनाएको छ। चाडपर्वको समयमा आन्तरिक उडानको भाडा दर एक्कासी आकासिएको हो।

आन्तरिक उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको काठमाडौं–धनगढीको हवाइ भाडा दर दसैं नजिकिएसँगै बढेर दोब्बर पुगेको छ। सामान्यतया मौसम सफा रहेमा काठमाडौं–धनगढीको हवाइ यात्रा गर्न १ घण्टा १५ मिनेटसम्म लाग्ने गर्छ। तर १ घण्टा ४५ मिनेटको दूरीमा रहेको भारतको नयाँ दिल्लीसम्मको टिकट भने बढीमा १४ हजारमै उपलब्ध हुन्छ।

यसरी काठमाडौंभन्दा भारतको राजधानीको टिकट सस्तो भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ। पछिल्लो समय इवाई इन्धनको मुल्य समेत बढेको छैन्। तर हवाई सेवाको भाडादर मनपरी रुपमा थप बढेपछि चाडपर्वमा घर आउने सर्वसाधारणले महंगै मूल्य चुकाउनु परेको गुनासो बढेको छ।

चर्चामा

सम्बन्धित समाचार