बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बैतडीको झुलाघाट नाका आंशिक रूपमा सञ्चालन

बैतडीको झुलाघाट नाका आंशिक रूपमा सञ्चालन

  • शनिबार, अशोज २७, २०८०
बैतडीको झुलाघाट नाका आंशिक रूपमा सञ्चालन

बैतडी —भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

पुल मर्मतका लागि ४५ दिनको ठेक्का दिइएकाले अझै केही दिन आंशिकरूपमै आवतजावत हुने उनले बताए । प्रजिअ पन्थीका अनुसार पुल मर्मत भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि अपरह्न ४ बजेर १५ मिनेटसम्म आवागमन बन्द हुने गरेको छ ।

झुलाघाट पुलमा आंशिकरुपमा मात्रै आवतजावत भइरहेकाले दसैँका लागि यो नाका भएर घर फर्कनेलाई केही समस्या भएको प्रजिअ पन्थीले बताए । तोकिएको समयमा मात्रै आवतजावत गर्न पाइने उनको भनाइ थियो । ‘भारतीय पक्षले उक्त पुल मर्मत काम गरिरहेको हो । पुलमा काठका नयाँ फल्याक राख्ने, खिया लागेको फलाम बदल्नेलगायत काम भइरहेका छन्’, उनले भने ।

झोलुङ्गे पुल मर्मतका विषयमा सीमा समन्वय बैठकमा सहमति भएको र सोहीअनुसार पुल मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सीमा नाका झुलाघाटमा करिब एक सय ५० वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको उक्त पुलबाट आवतजावत गर्ने गरिएको छ । यो पुल जीर्ण भएकाले बेलाबेलामा मर्मतसम्भार गर्ने गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार