बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • राजनीतिमा चिसो र तातो भइरहन्छ, कोशीमा हाम्रो मुख्यमन्त्री कार्की हो : प्रधानमन्त्री

राजनीतिमा चिसो र तातो भइरहन्छ, कोशीमा हाम्रो मुख्यमन्त्री कार्की हो : प्रधानमन्त्री

  • शनिबार, अशोज २७, २०८०
राजनीतिमा चिसो र तातो भइरहन्छ, कोशीमा हाम्रो मुख्यमन्त्री कार्की हो : प्रधानमन्त्री

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको मुख्यमन्त्री कांग्रेसका केदार कार्की भएको बताएका छन् । शनिबार बिहान चितवन पुगेका प्रधानमन्त्री दाहालले गठबन्धनको प्रमुख घटक कांग्रेसको आन्तरिक विवादका कारण कोशी प्रदेशमा समस्या आएपनि त्यसलाई ‘सुरक्षित अवतरण’ गरिएको बताए ।

कोशी प्रदेशको राजनीतिक विवादको विषयले राजनीतिक दलहरूबीच समस्या आएपनि त्यसलाई समाधान गर्न र गठबन्धन बलियो बनाउन तयार रहेको उनको भनाइ थियो । ‘केदार कार्की हामी सबैको मुख्यमन्त्री हो । त्यो समस्या जसरी सोचिएको थियो र मिडियामा जसरी चर्चा-परिचर्चा चलेको थियो त्यस्तो छैन,’ उनले भने, ‘चिसो र तातो त राजनीतिमा भइरहन्छ । गठबन्धन भित्र विवाद हुँदा झन् बलियो बनाउन सहयोग हुन्छ ।’

गठबन्धनलाई बलियो बनाउनका लागि माओवादी र कांग्रेस नेताहरू दृढ रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘तपाईंहरूले थाहा पाइसक्नुभयो होला बिहान मात्रै शेरबहादुर देउवा, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं कि गठबन्धन बलियो बनाउने कुरामा दृढ र स्पष्ट छौं । कुनै पनि हालतमा गठबन्धन कमजोर बन्न दिने छैनौं भन्ने,’ उनले भने ।

कोइराला पक्षका केदार कार्कीले कांग्रेसको निर्णय अस्वीकार गरी एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि सत्तारुढ गठबन्धनमध्ये कांग्रेस र माओवादीका शीर्ष नेताहरू बसेर शनिबार बिहान सहमति गरेका थिए । बालुवाटारमा बसेको दाहाल, देउवा र कोइरालाको सहमतिपत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धन‌प्रति दृढ र स्पष्ट छौं र यो गठबन्धन‌लाई कुनै पनि हालत‌मा कमजोर हुन दिने छैनौं ।’

प्रधानमन्त्री दाहालले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले समर्थन र विश्वासको मत दिने जानकारी दिए ।

कोशी प्रदेश सरकारमा एमाले सहभागी हुने कि नहुने भन्नेमा प्रधानमन्त्री दाहालले प्रतिक्रिया दिन चाहेनन् । उनले त्यो कुरा एमालेले नै बुझ्नुपर्ने मात्रै बताए । कोशी प्रदेशमा सर्वपक्षीय सरकार असम्भव नभएपनि तत्काल बनिहाल्ने अवस्था नरहेको उनको भनाइ थियो ।

त्यस्तै, अर्थतन्त्रमा समस्या परेको बताउँदै प्रधानमन्त्री दाहालले त्यसको समाधान गर्न सरकार लागिपरेको बताए । ‘अहिले अर्थतन्त्रमा धेरै दबाब परेको छ । यसका धेरै कारण छन् । विगतदेखिका समस्या छन्,’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार