• होमपेज
  • देश
  • रिगलको कैद मिनाहविरूद्ध सर्वोच्चमा सुनुवाइ हुँदै, महान्यायाधिवक्ताले बहस गर्ने

रिगलको कैद मिनाहविरूद्ध सर्वोच्चमा सुनुवाइ हुँदै, महान्यायाधिवक्ताले बहस गर्ने

  • बिहिबार, अशोज २५, २०८०
रिगलको कैद मिनाहविरूद्ध सर्वोच्चमा सुनुवाइ हुँदै, महान्यायाधिवक्ताले बहस गर्ने

बाँकेका योगराज ढकाल (रिगल) को कैद मिनाहविरूद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा जारी छ।

बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो।

चेतन मान‍न्धरकी श्रीमती भारती मानन्धरले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माले बिहीबारका लागि पेशी तोकेका थिए।

न्‍यायाधीश शर्माले यस मुद्दालाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएका थिए। अग्राधिकार भनेको त्यो दिनको पेशी सूचीमा पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नु हो।

यस मुद्दामा इजलासले महान्यायाधीवक्ता आफैं उपस्थित भएर बहस गर्न आदेश दिएको थियो।

उक्त आदेशसँगै महान्यायाधीवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र गोपाल रिजाल, सहन्यायाधीवक्ता सूर्यराज दाहाल लगायतले बहस गर्ने भएका हुन्।

न्यायाधीश शर्माको इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका दिन माफी मिनाहासम्बन्धी गरेको निर्णयको सक्कलप्रति पनि असोज २४ गतेभित्रै झिकाउन आदेश दिएको थियो। रिगलविरूद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्चले दिएको मुद्दा फिर्तासम्बन्धी आदेश र अरू सबै मुद्दाहरूको मिसिल पनि मगाएको थियो।

रिगल संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए।

The web
०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

उनी सजाय माफी पाएर छुटेको थाहा पाएपछि मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट हालेकी हुन्।

रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतनको हत्या गरेका थिए। हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। त्यसमा संलग्न रहेको भन्दै अन्य १२ जनालाई पनि तीनदेखि १० वर्ष कैद सजाय तोकेको थियो।

चर्चामा

सम्बन्धित समाचार