मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • घरभित्र सुत्न डराउँदै बझाङका भूकम्प पीडित, जिल्लाका सबै विद्यालय बन्द

घरभित्र सुत्न डराउँदै बझाङका भूकम्प पीडित, जिल्लाका सबै विद्यालय बन्द

  • बिहिबार, अशोज १८, २०८०
घरभित्र सुत्न डराउँदै बझाङका भूकम्प पीडित, जिल्लाका सबै विद्यालय बन्द

 बझाङ —बझाङमा भूकम्पबाट प्रभावितहरु आफ्नै घरभित्र प्रवेश गर्न डराउन थालेका छन्। मंगलबार दिउँसो गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ। मंगलबारको रात खुला आकाश, सडक, चौरमा कटाएका स्थानीय बुधबार पनि घरमा पस्न सकेका थिएनन्।

अधिकांश घरहरू भूकम्पले चर्किएको र निरन्तर परकम्पहरू आइरहेका कारण स्थानीयहरू घरभित्र सुत्न डराइरहेका हुन्। घरभित्र सुत्न त के प्रवेश गर्न समेत स्थानीयलाई त्रास भइरहेको हो। रातभर चिसो भुइँ र खुला आकाशमा सुत्नुपरेका कारण बालबालिका र वृद्धवृद्धाहरू चिसो लागेर बिरामी हुन थालेका छन्।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि बुधबार ५ बजेसम्म बझाङ सदरमुकाम र आसपासका ठाउँलाई केन्द्र बनाएर २ सय ३४ परकम्पहरू गएका छन्। यसबीचमा एक पटक ६ दशमलव ३ म्याग्निच्युड, चार पटक ५ म्याग्निच्युडभन्दा माथि र सात पटक चार म्याग्निच्युडभन्दा माथिको भूकम्प गएको र अन्य परकम्पहरू चार म्याग्निच्युडभन्दा कमको रहेको केन्द्रले जनाएको छ।

लगातार परकम्प आउन थालेपछि मंगलबार खुलाचौर, सडक किनार, बारीका कान्ला र विद्यालयका चौरमा रात बिताएका स्थानीयहरू बुधबार पनि बाहिरै घरभित्र जान डराएका हुन्। जिल्ला अस्पतालका बिरामीहरूलाई पनि रातभर अस्पताल बाहिरको खुला आकाशमै राखेर उपचार गरिएको थियो। अस्पतालका निमित प्रमुख डाक्टर इन्द्र शाहले लगातार आइरहेको भूकम्पका कारण बिरामी र कुरुवाहरूले भित्र बस्न नमानेका कारण मंगलबार रातभर खुलाचौरमा राखेर उपचार गरिएको बताए।

लगातार गइरहेको परकम्पका कारण जोखिम बढेको भन्दै आज पनि जिल्लाभरिका विद्यालय बन्द गरिएका छन् भने आइतबारसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको छ। मंगलबार आएको भूकम्पसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी जयपृथ्वी नगरपालिका–११ की महिला स्वयंसेविका गुनमती धामीको शव बुधबार फेला परेको थियो। शवको केही टुक्रा पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो।

जिल्ला प्रशासनले भूकम्पका कारण जिल्लाभरि तीन सय १५ वटा निजी घर र २१ वटा विद्यालय, वडा कार्यालयलगायत सरकारी भवनहरू भूकम्पले पूर्ण क्षति भएको प्रारम्भिक जानकारी आएको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ। प्रशासनले भूकम्पका कारण अवरुद्ध भएका जयपृथ्वी राजमार्ग चैनपुर ताक्लाकोट सडक खुलाइएको र अन्य ग्रामीण सडकहरूमा पनि पहिरो गएको र चिरा परेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर राहत र उद्धारको कामलाई तीव्रता दिने निर्णय गरेको छ। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बैठकले विस्थापितको राहतका लागि संघ, प्रदेश सरकार र दातृ संस्थाहरूलाई अनुरोध गर्ने निर्णय गरेको र क्षतिको तथ्यांक संकलन र अध्यावधि गर्नका लागि टिम गठन गर्ने निर्णय गरेको बताए।

बझाङमा गएको भूकम्पमा पीडितहरुको उद्धार र व्यवस्थापनका लागि सिंहदरबारमा बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बझाङ भूकम्प र पीडितको उद्धार, राहत र व्यवस्थापनको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बाह्रौं बैठक सिंहदरबारमा बसिरहेको हो। भूकम्पका कारण बझाङमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। निरन्तरको पराकम्पका कारण घाइते र पीडितहरु अझै घरमा पस्न सकेका छैनन्।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको हो।

खोज, उद्धार, राहत वितरण कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। उनले भूकम्पमा परी घाइते भएकाको उपचारमा कुनै कमी–कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए। बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका सभामुख, प्रदेशका प्रमुख सचिव, सचिव, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो।

चर्चामा

सम्बन्धित समाचार