• होमपेज
  • राजनीति
  • एमालेकाे कोशी अधिवेशन आज, अध्यक्षमा सहमति खाेज्ने प्रयास

एमालेकाे कोशी अधिवेशन आज, अध्यक्षमा सहमति खाेज्ने प्रयास

  • शुक्रबार, अशोज १२, २०८०
एमालेकाे कोशी अधिवेशन आज, अध्यक्षमा सहमति खाेज्ने प्रयास

विराटनगर– नेकपा एमालेको कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।यसअघि मोरङको विराट चोकमा गर्ने तयारी भएपनि पहिचान पक्षधरले अवरोध गर्न सक्ने भएका कारण विराटनगरमा सारिएको हो । दुई दिनसम्म चल्ने पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् ।

अध्यक्षका अर्का दोबदार वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने पछि हटेका छन् । वर्तमान उपाध्यक्ष टीकाराम चेम्जोङले पनि दाबी छाडेका छैनन् । तर उनी पुन: उपाध्यक्षमा नै दाेहाेरिने सम्भावना छ । बिहीबार प्रदेश कमिटीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा एमाले सचिव रघुवीर महासेठले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका थिए । नभए चुनाव हुने उनकाे भनाइ छ ।

केन्द्रबाट महासेठले खतिवडाकाे पक्षकाे लाइन लिएर आएका छन् । उनीसहित प्रदेशका केन्द्रीय नेताहरु ढकालकाे विपक्षमा छन् । एमाले नेताहरुका अनुसार अध्यक्ष केपी शर्मा ओलीले घनश्याम खतिवडाको नाममा सहमति जुटाउन भनेका छन् । तर दुई कार्यकाल माेरङकाे अध्यक्ष बनेका विनोद ढकालले दाबी छाडेका छैनन् । ढकालले पार्टी भित्रको लोकतन्त्रका लागि निर्वाचन गर्नुपर्ने अडानमा छन् । ढकालले दाबी छाडेकाे अवस्थामा भने सर्वसम्मत नेतृत्व चयन हुने प्रदेश कमिटी स्राेतले बताएकाे छ ।

नेताहरुका अनुसार गृह प्रदेश भएका कारण अध्यक्ष ओलीले कोशीमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गराउने पक्षमा छन् । यसअघि उनले बागमतीमा र लुम्बिनीमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर लुम्बिनीमा निर्वाचनबाट नेतृत्व चयन गरियो भने बागमतीमा शुक्रबार मतदान हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार