• होमपेज
  • समाज
  • कैलालीमा जताततै जुवाडे, १३ जना विरुद्ध मुद्दा

कैलालीमा जताततै जुवाडे, १३ जना विरुद्ध मुद्दा

  • बुधबार, अशोज १०, २०८०
कैलालीमा जताततै जुवाडे, १३ जना विरुद्ध मुद्दा

धनगढी– चाडपर्व नजिकिदै गर्दा कैलालीमा जुवा खेलाउने र खेल्ने समुह जुवाखालमा जम्न थालेका छन्। यही असोज ५ गते मात्र धनगढीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहका आनन्द केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–४ का ५० वर्षीय दिपेन्द्र भण्डारीसहित ७ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ६४ हजार ३ सय ८० रुपैँया ९ थान मोबाइल, ३ गड्डी ताससहित पक्राउ गरेको थियो। चाडपर्व नजिकिदै गर्दा जुवा खेल्ने र खेलाउने स्थानहरुको विषयमा प्रहरीले निगरानी बढाउन थालेको छ। कैलालीका धेरै स्थानमा यसैगरी होटल, घर तथा विभिन्न संघसंस्थाका कार्यालमै जुवातास खेलाउने र खेल्ने समुह सक्रिय बन्न थालेका छन्।

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो। तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन। कैलाली प्रहरीमा मात्र गत वर्ष जुवा खेल्न वा सट्टाबाजी गर्न नहुँने अपराधमा १३ वटा मुद्दा दर्ता भएका थिए।

तर ती सबै मुद्दाको फस्र्यौट भइसकेको प्रहरीको तथ्यांकले देखाएको छ। यस वर्ष पनि विभिन्न स्थानबाट प्रहरीले जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्नहरुलाई पक्राउ गर्न थालेको छ। यस्तो कार्यमा संलग्न विरुद्ध मुद्दा नै चलाएर नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार