• होमपेज
  • देश
  • बेइजिङमा प्रचण्ड- नेपाललाई गरिब रहिरहने छुट छैन, विदेशी लगानी मार्फत धनी बन्न चाहन्छौं

बेइजिङमा प्रचण्ड- नेपाललाई गरिब रहिरहने छुट छैन, विदेशी लगानी मार्फत धनी बन्न चाहन्छौं

  • आइतवार, अशोज ७, २०८०
बेइजिङमा प्रचण्ड- नेपाललाई गरिब रहिरहने छुट छैन, विदेशी लगानी मार्फत धनी बन्न चाहन्छौं

बेइजिङ — चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब गरिब मुलुक रहिरहने छुट नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले बेइजिङमा संयुक्त रूपमा आयोजना गरेको नेपाल चाइना बिजनेस फोरमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाल र नेपाली जनतालाई गरिबीबाट बाहिर निकाल्न मेरो सरकारले काम गरिरहेको छ । हामी नेपाली जनताको विकास चाहन्छौं’, उनले भने ।

नेपालले स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन गरी गरिबी निवारण र सम्पत्ति बढाउने काम गर्न चाहेको उनको भनाइ थियो ।

नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको र त्यो देशमा लगानी भित्र्याउनका लागि महत्वपूर्ण हुने उनले बताए । ‘यो स्तरोन्नति नेपालको रूपान्तरणको कोसेढुंगा बन्नेछ’, उनले भने ।

नेपाल सबैभन्दा उच्च र छिटो विकास गरिरहेका देशहरू चीन र भारतको बीचमा छ । यो रणनीतिक भूगोलले पनि नेपाललाई विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाएको उनको भनाइ थियो । चीनले लगानी र प्रविधिका क्षेत्रमा गरिरहेको प्रगतिबाट नेपालले लाभ उठाउन चाहेको पनि उनले बताए ।

जनसांख्यिक लाभका हिसाबले पनि नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाएको उनको भनाइ थियो । ‘नेपालका युवाको औसत उमेर २४ वर्ष छ । नेपालमा लगानीको प्रतिफल उच्च छ, उच्च र दिगो आर्थिक वृद्धिको सम्भावना छ’, उनले भने ।

चीनले गरिबी निवारण, नवप्रवर्तन, विज्ञान तथा प्रविधिमा गरेको प्रगति अनुकरणीय रहेको भदै प्रचण्डले प्रशंसा गरे ।

नेपाल र चीनको इतिहास र मित्रता पाँचौं शताब्दीदेखि सुरु भएको र हाल उचाइमा रहेको उनले बताए । नेपाल र चीनबीचको व्यापार बढिरहेको भन्दै प्रचण्डले खुसी व्यक्त गरे । चीन सबैभन्दा ठूलो विदेशी लगानीकर्ता र र दोस्रो ठूलो व्यापार साझेदार रहेकाले नेपालका लागि महत्वपूर्ण मित्रराष्ट्र रहेको उनको भनाइ थियो ।

‘व्यापार घाटा नेपालको सबैभन्दा ठूलो समस्या हो । नेपालले निर्यात बढाएर यसलाई कम गर्ने प्रयास गरिरहेको छ । त्यसका लागि पूर्वाधार चाहिन्छ’ उनले भने, ‘त्यसका लागि हामी नेपाल–चीन सहकार्य चाहन्छौं । हामी चिया लगायत कृषि उत्पादन निर्यात गर्न चाहन्छौं । सहुलियतपूर्ण बजार पहुँच चाहन्छौं’, उनले भने ।

व्यवसायको वातावरण सुधार गर्नका लागि नेपालले कानुनी सुधार गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । ‘अझै पनि हामी कानुनी र प्रक्रियागत सुधार गरिरहेका छौं । हामी व्यवसायको वातावरण अझै राम्रो होस् भन्ने चाहन्छौं । नेपालको श्रम ऐन, कम्पनी ऐन तथा उद्योग सम्बन्धी ऐनहरू पनि निरन्तर सुधार भइरहेका छन्’, उनले बताए ।

प्रचण्डले नेपालमा ऊर्जाको आपूर्ति पर्याप्त भन्दै अहिले नेपालले विद्युत् निर्यात गर्न पनि थालेको बताए ।

नेपालमा यो क्षेत्रमै सबैभन्दा कम कर्पोरेट आयकर भएको, पूर्वाधारमा नेपालका सार्वजनिक निजी साझेदारीको ढोका खोलेको उनले बताए ।

नेपालमा चिनियाँ लगानीकर्तालाई संरक्षण र लगानी प्रवद्र्धन गर्न कुनै कसर बाँकी नराख्ने पनि उनले बताए ।

कार्यक्रममा चीनका वाणिज्य उपमन्त्री ली फीले नेपालको लगानी तथा व्यापार प्रवद्र्धनका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालको आर्थिक विकासमा सहयोग गर्न चीन तयार छ ।

उनले नेपाली उत्पादनहरूलाई चिनियाँ इ–कमर्सहरू मार्फत बजारीकरण गर्न चीनले प्रयास गरिरहेको पनि बताए ।

नेपाल र चीनबीच टिंकर र मुगु सीमामा यातायात पूर्वाधार बनाउने गरी काम भइरहेको जानकारी पनि दिए । साथै अरनिको राजमार्गको क्षमता विकास र रसुवागढी सडकको स्तरोन्नतिमा चीनले सघाउने उनले बताए । ‘विदेशी लगानी आकर्षित गर्ने तथा निर्यात बढाउने विषयमा क्षमता विकासमा चीनले सहयोग गर्नेछ’, उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल ठूला छिमेकीहरूको तुलनामा सानो देखिए पनि विश्वमा जनसंख्याका हिसाबले ४९औं ठूलो मुलुक भएकाले नेपालमा लगानी बढाउन अनुरोध गरे । ‘नेपालमा मध्यम वर्गको जनसंख्या बढ्दै गएकाले यो व्यापार र लगानीका लागि राम्रो अवसर हो’, उनले भने ।

नेपालका बाह्य क्षेत्र विशेषगरी विदेशी विनिमयको सञ्चिति तथा शोधनान्तर स्थिति असाध्यै सहज अवस्थामा रहेको र त्यो विदेशी लगानीकर्ताका लागि आकर्षणको विषय भएको उनको भनाइ थियो ।

नेपालबाट विश्वव्यापी रूपमा निर्यातको सम्भावना रहेको पनि उनले बताए । ‘नेपालबाट चीन, भारत, युरोप अमेरिका लगायतमा निर्यात गर्दा भन्साररहित सुविधा छ’, उनले भने ।

उनले चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार भए पनि निर्यात असाध्यै कमजोर हुनु चिन्ताको विषय भएको बताए ।

नेपालमा ऊर्जा, कृषि, आईसीटी, बैंक, खानीजन्य उद्योग लगायत क्षेत्रमा लगानीको सम्भावना उच्च रहेको उनले बताए । वित्तीय क्षेत्रमा पनि नेपालमा लगानीको सम्भावना छ । नेपालका वाणिज्य बैंकहरूले राम्रो गरिरहेका छन्, उनले भने ।

नेपाल र चीनबीचको आर्थिक कारोबार बढ्दै गएको छ तर नेपालमा चीनको बैंक छैन । त्यसो हुँदा चीनको बैंक नेपालमा पनि स्थापना गर्न वा बैंक स्थापनामा संयुक्त लगानी गर्न अनुरोध गर्छु ।

उपाध्यक्ष सीसीपीआईटीका उपाध्यक्ष झाङ साओगाङले चीन सरकार र व्यवसायीहरूले बीआरआईको छाताभित्र लगानी र व्यापारको प्रवद्र्धन गरिरहेको बताए । नेपालमा राम्रा उत्पादन भए पनि चिनियाँ उपभोक्तालाई राम्रोसँग थाहा हुन नसकेकाले चीनमा नेपाली उत्पादनको प्रवद्र्धन गर्न र तीबारे चिनियाँ उपभोक्तालाई जानकारी दिन सीसीपीआईटीले सहयोग गर्ने उनले बताए ।

यो बिजनेस फोरमकै अवसरमा लगानीकर्ताहरूबीच ६ वटा सम्झौता भएको उनले बताए ।

उनले धेरै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न र चीनको आपूर्ति शृंखलामा जोडिन पनि अनुरोध गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका विदेशी लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति मनोज पौडेलले नेपालको अर्थतन्त्र र लगानीको अवसर सम्बन्धका बारेमा प्रस्तुति दिएका थिए । नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा रहेको र यो नेपालका लागि ठूलो अवसर भएको उनले बताए ।

नेपालमा काम गरिरहेका विदेशी लगानीकर्ताहरूले आकर्षक प्रतिफल प्राप्त गरिरहेको पनि उनले बताए ।

यो समिटमा १२० चिनियाँ कम्पनी सहभागी थिए । नेपालका तर्फबाट उद्योग वाणिज्य महासंघ प्रतिनिधि सहित नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका सहित ५० व्यवसायी सहभागी छन् ।

चर्चामा

सम्बन्धित समाचार