• होमपेज
  • देश
  • तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा छानबिन गर्न समिति गठन

तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा छानबिन गर्न समिति गठन

  • शनिबार, भदौ ३०, २०८०
तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा छानबिन गर्न समिति गठन

काठमाडौं — काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको सामूहिक हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको छ ।

उक्त घटनाको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक राठौरको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेका हुन् । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाडौं उत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसधान कार्यालय मिनभवनका प्रहरी नायब उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

समितिलाई घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र प्रविधिलगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

शुक्रबार राति करिब १२ बजे तीनकुनेस्थित दिव्या सःमिलमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको थियो । उक्त घटनामा काठ उद्योगको गेटपालेको रुपमा काम गर्दै आएका दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीय शुभद्रा भुजेलको हत्या भएको थियो । साथै मारेङ, बेलबारीका २० वर्षीय नवीन राईको पनि हत्या भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार