• होमपेज
  • देश
  • संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

  • बिहिबार, भदौ २८, २०८०
संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं —प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख देवराज घिमिरेले बैठकमा राखेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो।

बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । यसअघि राष्ट्रियसभाले वर्तमान प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।

बैठकमा पूर्वसभामुख समेत रहेका नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो। प्रतिनिधिसभा अर्को बैठक भदौ २९ गते दिउँसो १ बजे बस्नेछ।

नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य भएका थिए । नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष भएका थिए।

नेम्वाङको आजै पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानमा अन्त्येष्टि गरिएको छ। नेम्वाङको हिन्दू र किराती परम्पराअनुसार दाहसंस्कार गरिएको हो।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो।

चर्चामा

सम्बन्धित समाचार