शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • लम्पी स्किन पीडित किसानलाई २० हजारसम्म राहत प्रस्ताव

लम्पी स्किन पीडित किसानलाई २० हजारसम्म राहत प्रस्ताव

  • मङ्लबार, भदौ १९, २०८०
लम्पी स्किन पीडित किसानलाई २० हजारसम्म राहत प्रस्ताव
फाइल फाेटाे

काठमाडौं — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ ।

पीडित किसानलाई मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत मापदण्ड बनाइएको हो ।

मन्त्रालयले तयार गरेको मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डा. वेदुराम भुसालले जानकारी दिए ।

‘किसानलाई राहत दिने तयारीमा सरकार छ । राहत वितरणका लागि केही प्रक्रियागत उल्झन मात्रै बाँकी हो,’ उनले भने ।

मापदण्ड बनाएका मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीका अनुसार किसानलाई नगदमै राहतको प्रस्ताव गरिएको छ । मापदण्डमा विवरण संकलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी तीन चरण प्रस्ताव गरिएको छ ।

किसानलाई दिने राहत पनि तीन प्रकारकै छ । किसानलाई ठूला वयस्क भैंसी र गाई मरेकोमा प्रति चौपाया २० हजार रुपैयाँ, स्थानीय जातको ठूला गाई/भैंसी, गोरु र राँगालाई १५ हजार र मृतक बाच्छा/बाच्छीलाई ५ हजार रुपैयाँ राहत प्रस्ताव गरिएको हो ।

मन्त्रालयका अनुसार लम्पी महामारीका कारण भदौ दोस्रो सातासम्म देशभर ५२ हजार ५४८ पशु मरेको तथ्यांक छ । तर, अहिलेको तथ्यांकमा कति वयस्क, कति रैथाने र कति बाच्छा बाच्छीको मरेको हो भन्ने विवरण छैन ।

मापदण्ड स्वीकृत कसरी हुन्छ ?

राहतमा ठूलो आर्थिक दायित्व सृजना हुने भएकाले गत सातामात्रै मापदण्डको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । यस्तै, गृह मन्त्रालयमार्फत क्षतिको विरवण संकलन र राहत वितरण हुने भएकाले गृहमा पनि सहमति माग गर्दै कृषिले पत्राचार गरेको छ ।

ती दुवै निकायबाट सहमति प्राप्त भएपछि मापदण्ड स्वीकृतिका लागि मन्त्रिपरषद्मा पेश गर्नुपर्नेछ ।

मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले स्वीकृत गरेको मापदण्ड प्राप्त भएपछि मात्रै क्षति संकलन सुरु हुनेछ ।

किसान हक अधिकारमा काम गर्नेहरु भने सरकारले राहतका लागि किसानलाई झुलाएको आरोप लगाउँछन् ।

प्रक्रियागत उल्झन देखाएर सरकार राहत दिनबाट पछि हटेको राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश तिमल्सिना बताउँछन् ।

राहतका लागि कति चाहिन्छ रकम ?

पशु सेवा विभागकाअनुसार हालसम्म लम्पी स्किनका कारण ५२ हजार ५४८ पशुको ज्यान गएको छ । तर, कस्ता प्रकारका कति पशुको मृत्यु भएको हो, त्यसको विवरण भने छुट्याउन बाँकी रहेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए ।

यस्तै, अझै रोगको प्रकोप बाँकी नै रहेको, अहिले भएको तथ्याङ्क पुनः प्रमाणीकरण गरिनुपर्ने कारणले लागत यकिन भइसकेको छैन ।

नयाँ तथ्यांकअनुसार देशभर १५ लाख १९ हजार ७७९ पशुलाई संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १३ लाख ९३ हजार ५९५ पशु रोगबाट निको भएका छन् भने ७३ हजार ६३६ पशु अझै बिरामी छन् ।

नेपाल पशु चिकित्सा परिषद्काअनुसार एउटा पशु संक्रमित हुँदा ४९ हजार १३५ रुपैयाँ क्षति पुग्ने देखिएको छ । जसबाट पशु क्षेत्रमा न्यूनतम् ५५ अर्ब बढी क्षति पुगेको अनुमान गरिएको छ ।

प्रस्तावित मापदण्डमा तीन वर्गमा राखेर मृत्यु भएका पशुको राहत दिने बताएको छ । राहत प्रस्तावलाई औसतमा निकाल्दा प्रतिपशु १३ हजार ३ सय ३३ रुपैयाँ हुन आउँछ । त्यस हिसाबले कम्तीमा पनि ७० करोड रुपैयाँ किसान राहतमा खर्च हुने अनुमान छ ।

चर्चामा

सम्बन्धित समाचार