सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • एमाले लुम्बिनी प्रदेश अधिवेशन : ५ पदाधिकारीमा १२ जनाको उम्मेदवारी

एमाले लुम्बिनी प्रदेश अधिवेशन : ५ पदाधिकारीमा १२ जनाको उम्मेदवारी

  • सोमवार, भदौ १८, २०८०
एमाले लुम्बिनी प्रदेश अधिवेशन : ५ पदाधिकारीमा १२ जनाको उम्मेदवारी

बुटवल — नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँच जना पदाधिकारीका लागि १२ जनाको उम्मेदवारी परेको छ । सोमबार बिहान १० बजेसम्म निर्धारित मनोनयन दर्ताको अवधिभित्र अध्यक्षमा दुई जनासहित १२ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रदेश कमिटी अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजाले हिंजो साँझ नै उम्मेदवारी दर्ता गरेका थिए । दुई उपाध्यक्ष पदका लागि रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रुपन्देहीकै अनुप बराल र बाँकेका कुजन विश्वकमाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, एक जना सचिव पदका लागि दाङका लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएको निर्वाचन मण्डलका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

दुई जना उपसचिव पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र दुर्गाप्रसाद चौधरी तथा रोल्पाका पूर्णबहादुर बुढा र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन् ।

एमालेको प्रदेश कमिटी ५ पदाधिकारीसहित २०५ सदस्यीय हुनेछ । निर्वाचन मण्डलका अनुसार आज (सोमबार) दिउँसोदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ ।

अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट एक हजार ४ जना प्रतिनिधिहरू मतदाता रहेका छन् ।

नेताहरुले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाएपनि भित्रभित्र आफ्नो गुटको पक्षमा लबिङ गरेकाले निर्वाचनबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशनस्थलमा सहभागी नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

नेकपा एमालेको प्रादेशिक स्तरमा हुने पहिलो अधिवेशनमै सहमति हुन नसकेपछि अन्य प्रदेशमा पनि यसको सन्देश जाने देखिएको छ ।

अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेलले आफूले एक वर्ष मात्र प्रदेश अध्यक्ष भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेशसभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको,पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिकरुपमा पारदर्शी मितव्यवयी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।

केन्द्रीय सदस्य एवं पुर्व प्रदेश मन्त्री रहेका अर्का उम्मेदवार हरिप्रसाद रिजालले पार्टीलाई थप बलियो बनाउन आफू प्रदेशमा आउन चाहेको बताएका छन् । कंडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाललाई महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।

चर्चामा

सम्बन्धित समाचार