• होमपेज
  • देश
  • एमसीसीबारे प्रचण्ड : व्याख्यात्मक घोषणालाई अंश बनाउने हो कि होइन सोध्छु

एमसीसीबारे प्रचण्ड : व्याख्यात्मक घोषणालाई अंश बनाउने हो कि होइन सोध्छु

  • मङ्लबार, भदौ १२, २०८०
एमसीसीबारे प्रचण्ड : व्याख्यात्मक घोषणालाई अंश बनाउने हो कि होइन सोध्छु

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंश बनाउने कि नबनाउने भनेर अमेरिकी अधिकारीलाई सोध्ने बताएका छन् ।

एमसीसी परियोजना भोलि बुधबार कार्यान्वयनमा जाँदैछ । त्यसका लागि एमसीसी सम्झौता कार्यान्वयनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।

त्यसको अघिल्लो दिन मंगलबार प्रधानमन्त्री प्रचण्ड स्वयंमले एमसीसी सम्झौता अनुमोदनका क्रममा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा कार्यान्वयन हुनेमा आशंका रहेको बताएका छन् ।

समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभामा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले एमसीसीबारे आफूले धेरै बोल्दा फाइदा नगर्ने बताए ।

एमसीसी अनुमोदन गर्ने क्रममा आफूले के–के गरेँ भनेर फेहरिस्त पेश गर्ने हो भने नेपालको परराष्ट्र नीतिको सन्तुलन बिग्रिने खतरा रहेको उनले बताए । उनले अगाडि भने, ‘के चाहिँ भन्छु भने नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि लडिठरहेको छु,जसरी जनयुद्धको बेला लडेको थिएँ ।’

अनुदान दिएर नेपालमा विकास गर्छौं भन्नेको अनुदान पनि लिने र राष्ट्रिय हित पनि प्रवर्द्धन हुने उपायको खोजी गर्ने क्रममा व्याख्यात्मक घोषणा भेटिएको प्रचण्डले बताए । अन्तर्राष्ट्रिय कानुनी मान्यता प्राप्त घोषणा भएको भन्दै उनले भने, ‘भोलि गडबड भयो भने आन्दोलनमा जानसक्ने उपाउ के छ भन्दा १२ बुँदे घोषणा ।’

संसदबाट सर्वसम्मत रुपमा पास भएको १२ बुँदे व्याख्यात्मक घोषणा सदनको सम्पत्ति भएको उनले बताए । ‘यसलाई कार्यान्वयन गर्ने हुन्छ कि हुन्न भन्नेमा आशंका छ’ समाजवादी मोर्चाको कार्यक्रममा विप्लव लगायतका नेताहरुले उठाएको आशंकामा सही थप्दै प्रचण्डले भने, ‘अहिले एमसीसीबारे एक जना अधिकारी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री भएकाले मसँग भेट्ने भइहाल्यो ।’

उनले अगाडि भने, ‘म व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो वा होइन सिधा भाषामा राख्ने छु । त्यसपछि के गर्नुपर्छ के हुन्छ भनेर मोर्चामा सल्लाह गरेर गरिन्छ ।’

चर्चामा

सम्बन्धित समाचार