• होमपेज
  • देश
  • १० वटै संसदीय समितिका सभापति निर्विरोध, रास्वपाका पराजुलीद्वारा उम्मेदवारी फिर्ता

१० वटै संसदीय समितिका सभापति निर्विरोध, रास्वपाका पराजुलीद्वारा उम्मेदवारी फिर्ता

  • सोमवार, भदौ ११, २०८०
१० वटै संसदीय समितिका सभापति निर्विरोध, रास्वपाका पराजुलीद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं — उद्योग समितिमा रास्वपाका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै प्रतिनिधिसभा अन्तर्गतका विषयगत सबै (१० वटै) समितिका सभापति निर्विरोध भएका छन् ।

प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले आज नेतृत्व पाउन लागेका हुन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा जनमत पार्टीका अब्दुल खानले उम्मेदवारी दिएका थिए । साथै पराजुलीले पनि यही समितिमा उम्मेदवारी दिएको हुँदा निर्वाचन हुने तयारी थियो । यद्यपि पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध भएका हुन् ।

दलहरुबीच सहमतिका आधारमा समितिको भागबन्डा मिलाइएको थियो । जसअनुसार नेपाली कांग्रेसले ३ वटा, नेकपा एमालेले २, माओवादी केन्द्र, जसपा, जनमत, एकीकृत समाजवादी र राप्रपाले १/१ समितिमा नेतृत्व गर्ने तय गरिएको थियो । दलहरुले राप्रपा र रास्वपालाई बागबन्डामा सहभागी गराएका थिएनन् ।

पछि राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिने भनिएपछि दीपकबहादुर सिंहले मनोनयन दर्ता गराए । राप्रपालाई संसदीय समितिको सभापति दिएर सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकारको सहयोग गर्ने सहमति भएको जनाइए पनि राप्रपाले भने सहमति नभएको खण्डन गरेको छ ।

संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिका सभापतिको चयन गरिन लागिएको हो । संसदीय समिति सभापति पदका लागि आइतबार उम्मेदवारी दर्ता गरिएको थियो । दलहरुको भागबन्डाकै कारण १० संसदीय समितिका सभापति निर्विरोध भएका हुन् ।

विषयगत समितिका रुपमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छन् । त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका संसदीय समिति हुन् ।

समितिमा कांग्रेसका तर्फबाट अर्थमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासनमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोतमा आरजु राणा देउवा निर्विरोध भएका छन् । नेकपा एमालेका तर्फबाट सार्वजनिक लेखामा ऋषिकेश पोख्रेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साह छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा जनमतका अब्दुल खान, एकीकृत माओवादीका तर्फबाट कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदी निर्विरोध भएका छन् ।

जसपाका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा राजकिशोर यादव र एकीकृत समाजवादीका तर्फबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा भानुभक्त जोशी निर्विरोध चयन भएका छन् । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह निर्विरोध भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार