• होमपेज
  • देश
  • कोशीमा सत्ता पक्षले गल्ती दोहोर्‍यायो : शेखर कोइराला

कोशीमा सत्ता पक्षले गल्ती दोहोर्‍यायो : शेखर कोइराला

  • मङ्लबार, भदौ ५, २०८०
कोशीमा सत्ता पक्षले गल्ती दोहोर्‍यायो : शेखर कोइराला

विराटनगर — नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा सत्ता पक्षले गल्ती दोह्रोर्‍याएको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै डा.कोइरालाले अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको बताए ।सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको डाक्टर कोइरालाले बताए ।

प्रदेश सरकारले न्यायालयको सम्मान नगरेको हो भन्ने प्रश्नमा उनले भने, ‘अदालतले जुन निर्णय गरेको थियो, अस्ति त्यो निर्णय सही निर्णय थियो, फेरि हामीले दोह्रो¥यायौं सत्ताका लागि, फेरि अदालतले के निर्णय गर्छ हेरौं ।’

सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई पनि मतदान गराएर विश्वासको मत लिएका थिए ।

पार्टी र सत्ताको राजनीतिक फरक हुने बताउँदै उनले सत्ताको राजनीति गलत हुँदा अदालतले सच्याउने बताए ।

‘राज्यसत्ता कमजोर भएको अवस्थामा यस्ता कुराहरु हुँदै जान्छन्,’ उनले भने, ‘घटनाहरु घट्दै जान्छन्, हामी गलत काम गर्दै जान्छौं, अनि अदालतले त्यसलाई तिमीहरु गलत छौ भनेर पुष्टि गरिरहन्छ ।’

राज्यसत्ता कमजोर भएपछि न्यायालय सक्रिय हुनु स्वभाविक हुने उनले बताए ।

कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा पनि सरकार गठन हुन नसक्ने बताउँदै उनले उपधारा ५ मा पुगेपछि सरकार गठन हुने अवस्था देखिएको बताए ।

प्रहरी अधिकृतको सरुवामा असन्तुष्टि

डाक्टर कोइरालाले नेपाल प्रहरीका अधिकृतको सरुवामा असन्तुष्टि जनाएका छन् । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एआइजी र एसएसपीको सरुवा भएकोप्रति उनले असन्तुष्टि जनाएका हुन् ।

‘जुन(प्रहरी सरुवा)निर्णय अहिले सरकारले गर्‍यो, त्यो चाहिँ मलाई आफैं पनि चित्त बुझ्दो छैन,’ उनले भने, ‘डिआइजी एआइजीको सरुवा त एउटा प्रक्रियामा हुन्छ, तर चार महिनामै सरुवा गर्दिने चित्त बुझेन भने ?, त्यसरी गर्न थाल्यो भने अफठ्यारो परिस्थिति बन्छ ।’

सरकारले अनुसन्धानका लागि राज्यका निकायलाई स्वतन्त्रता नदिएको आरोप लगाउँदै उनल भने, ‘सिआईबीलाई पनि इन्डिपेन्डेन्ट हिसाबले चल्न दिएको भए परिस्थिति अर्कै हुन्थ्यो ।’

चर्चामा

सम्बन्धित समाचार