• होमपेज
  • देश
  • गठबन्धन भित्रकै दलबाट सरकारलाई घेराबन्दी भयो : वर्षमान पुन

गठबन्धन भित्रकै दलबाट सरकारलाई घेराबन्दी भयो : वर्षमान पुन

  • सोमवार, भदौ ४, २०८०
गठबन्धन भित्रकै दलबाट सरकारलाई घेराबन्दी भयो : वर्षमान पुन

काठमाडौं — नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्ता गठबन्धन भित्रकै दलबाट सरकारलाई घेराबन्दी गर्ने प्रयास भएको बताएका छन्। सोमबार एक कार्यक्रममा पुनले सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको खुलासा गरेका हुन्।

उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको छ। सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको छ।’

उनले सरकार जनताको साथ लिएर सबै खाले घेराबन्दी तोड्दै लक्ष्यमा अघि बढ्ने बताए। ‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ’, पुनले भने, ‘हामी सबै घेराहरु तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं ।’

पुनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेको औंल्याए। पुनले केन्द्रीय समितिको निर्णय अनुसार सुरु ‘घरघरमा माओवादी, जनजनमा माओवादी’, अभियानका क्रममा काठमाडौं उपत्यकामा रक्तदान, वृक्षरोपण तथा सफाई अभियान सञ्चालन गरिने बताए।

चर्चामा

सम्बन्धित समाचार