शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • कोशीका मुख्यमन्त्री थापाको विश्वासको मत आज, तर प्रदेश सभा बैठक अनिश्चित

कोशीका मुख्यमन्त्री थापाको विश्वासको मत आज, तर प्रदेश सभा बैठक अनिश्चित

  • सोमवार, भदौ ४, २०८०
कोशीका मुख्यमन्त्री थापाको विश्वासको मत आज, तर प्रदेश सभा बैठक अनिश्चित

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची छ ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिनका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । तर दलहरुमा देखिएको अन्योलताका कारण आजको बैठक नै अनिश्चित बनेको छ ।

सभामुख नभएका कारण सत्तागठबन्धन उपसभामुख सृजना दनुवारले अध्यक्षता गरे मात्रै बैठक अगाडि बढाउने पक्षमा छ । उपसभामुख आफैँ भने बैठकमा अनुपस्थित हुने तयारीमा रहेको स्रोतले जनायो ।

प्रदेशसभा बैठकमा नेकपा एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यलाई संसदमा उपस्थित नहुन निर्देशन दिएका छन् । सोही अनुसार एमालेका ७ र राप्रपाका एक सांसदले जरुरी घरायसी काम परेको भन्दै केही दिन बैठकमा उपस्थित हुन नसक्ने सूचना दिएका छन् ।

एमालेका रोहितबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), खड्गबहादुर बस्नेत (६७), तारादेवी ढकाल (६६), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले विदा बस्ने निवेदन दिएका छन् ।

राप्रपा प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्मा (६५) ले पनि उपस्थित हुन नसक्ने भनी निवेदन दिएका हुन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार आठै जनाले निवेदनमा ‘घरायसी जरुरी काम भएका कारण उपस्थित हुन नसक्ने’ उल्लेख गरेका छन् ।

उपसभामुख सृजना दनुवार पनि बैठकमा उपस्थित नहुने तयारीमा छिन् । उनी उपस्थित नभए उनले प्रदेशसभा सञ्चालनका लागि गठन भएको अध्यक्ष मण्डलका सदस्यलाई जिम्मेवारी दिनुपर्छ । सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्छ ।

प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत पुर्याउनबाट रोक्नका लागि उनले अनुपस्थित हुने निवेदन दिएकी छिन् । उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने बताएका छन् ।

उपसभामुख दनुवार, एमाले प्रदेशसभा सदस्य सुब्बा र राप्रपाका विष्ट अनुपस्थित भएमा सत्ता गठबन्धन संकटमा पर्ने छ । किनकी उनीहरू अनुपस्थित हुँदा प्रदेशसभा सञ्चालनको जिम्मा अध्यक्ष मण्डलमा रहेका सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यको हुनेछ ।

अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् । मन्सुरी वा तिम्सिनाले प्रदेशसभा बैठक सञ्चालन गरे मुख्यमन्त्रीलाई विश्वासको मत पुग्दैन । सत्ता गठबन्धन बाहेकका सांसदले बैठकको अध्यक्षता गर्ने अवस्था नआए आजको बैठक स्थगित हुने सम्भावना छ ।

९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा ४७ जना छन्, जुन बुहमत मात्रै हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।

मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाको ६ जना सांसद छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने बताए । उपसभामुखले नै बैठक सञ्चालन गर्नेमा गठबन्धन विश्वस्त रहेको बताउँदै उनले उपसभामुख अनुपस्थित भए बैठक अनिश्चित हुने बताए ।

चर्चामा

सम्बन्धित समाचार