• होमपेज
  • देश
  • संसदको गतिरोध अन्त्य गर्न सभामुख सक्रिय, आज पनि प्रमुख सचेतकसँग छलफल गर्ने

संसदको गतिरोध अन्त्य गर्न सभामुख सक्रिय, आज पनि प्रमुख सचेतकसँग छलफल गर्ने

  • आइतवार, भदौ ३, २०८०
संसदको गतिरोध अन्त्य गर्न सभामुख सक्रिय, आज पनि प्रमुख सचेतकसँग छलफल गर्ने
फाइल फोटो

काठमाडौं — संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आज पनि पहल गर्ने भएका छन्। सभामुख घिमिरेले प्रधानमन्त्री, प्रमुख तीन दलका शीर्ष नेता र प्रमुख सचेतकसँग पटक-पटक छलफल भएपनि हालसम्म संसदको गतिरोध हट्न सकेको छैन।

सभामुख घिमिरेले सदनको अवरोध हटाउन आज बिहान ११ बजेपनि सिंहदरबारस्थित कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएका छन्।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ।

भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ नगरेको र १०० किलो (तौलिँदा ६० किलो) सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ।

हालको अनुसन्धान प्रक्रियाबाट निष्कर्षमा पुग्न नसकिने भन्दै एमाले र राप्रपाले तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने बताउँदै आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको करिब ९ किलो सुन हराएपछि उक्त प्रकरणमा संलग्न चिनियाँ व्यापारीसमेत रहेका तस्करहरुसँग महरा बाबुछोराले पटकपटक टेलिफोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

तर हालसम्म प्रहरीले महरा बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान गरेको छैन। उक्त प्रतिवेदनको आधारमा समाचार प्रकाशित भएपनि महराले आफू संलग्न नभएको र उक्त प्रकरणमा रहेको नाम, उल्लेख गरिएको फोन नम्बर आफ्नो नभएको दाबी गरिरहेका छन्।

एमाले, राप्रपा र रास्वपालगायत सत्ता पक्षकै कतिपय सांसदले विमानस्थलबाट भएको सुन तस्करी प्रकरण अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने बताइरहँदा सरकार र सत्ता गठबन्धनले समिति नबनाउने अडान लिएका छन्।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूको अडान कायम भएपछि बैठक अनिर्णित भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार