• होमपेज
  • देश
  • एमसीसी परियोजनाको काम भदौ दोस्रो सातादेखि सुरु

एमसीसी परियोजनाको काम भदौ दोस्रो सातादेखि सुरु

  • शनिबार, भदौ २, २०८०
एमसीसी परियोजनाको काम भदौ दोस्रो सातादेखि सुरु

काठमाडौं — मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका परियोजनाको काम यही भदौको दोस्रो सातादेखि सुरु हुने भएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) नेपालले एमसीसी मुख्यालयसँग भदौ १४ वा १५ गतेबाट काम थाल्ने अनुमति मागेको हो।

हालै भएको संयुक्त बैठकमा भदौ दोस्रो सातादेखि काम थाल्न अर्थ मन्त्रालयले पनि सैद्धान्तिक सहमति दिएको हो ।

विद्युत प्रसारण लाईन र सडक सुधारका क्षेत्रमा काम गर्ने गरी सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो ।

आयोजना पर्ने क्षेत्रमा अहिले जग्गा अधिग्रहण र रुख कटानका काम भइरहेका छन् । वन तथा वातावरणका विषय टुंगिएका क्षेत्रबाट काम थालनी हुन लागेको हो । सुरु गरेको पाँच वर्षमा काम नसकिए अनुदान फिर्ता हुने प्रावधानका कारण सानातिना विवाद समाधान गर्दै काम अघि बढाउने दुवै पक्षको तयारी छ ।

नेपाल सरकार र एमसीसीबीच ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान सम्झौता भएको हो । यो आयोजनामा नेपाल सरकारको १३ करोड अमेरिकी डलर लगानी रहनेछ । यसअन्तर्गत ३१५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन तथा तीनवटा सबस्टेसन निर्माण गरिनेछ ।

प्रसारण लाइन बनेपछि निर्माणाधीन १३२ वटा जलविद्युत आयोजनाबाट करिब चार हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

एमसीसी नेपालले बनाउने प्रसारण लाइनले यो बिजुलीलाई आन्तरिक खपतका लागि बजारसम्म पुर्याउन सहयोग गर्नुका साथै बढी हुने विद्युत भारत र अन्य मुलुकमा बेच्न सघाउने छ ।

लामो विवादपछि गत वर्ष प्रतिनिधिसभाले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार