नयाँदिल्ली —भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ मा स्वतन्त्रताको सय वर्ष पुग्दा भारत विकसित मुलुक बनिसक्ने बताएका छन् ।
७७औं स्वतन्त्रता दिवसका अवसरमा आज (मंगलबार) सम्बोधन गर्दै उनले भ्रष्टाचार र परिवारवादविरुद्ध आफ्नो संघर्ष जारी रहने पनि बताए । मोदीले आफ्नो १० वर्षको कार्यकालमा देशको अर्थव्यवस्थालाई विश्वको पाँचौं नम्बरमा ल्याएको उल्लेख गर्दै भ्रष्टाचार रोक्दै अर्थव्यवस्था मजबूत बनाएको दाबी गरे ।
यस्तै, आफ्नो कार्यकालमा राज्य सरकारलाई दिने अनुदान ३० लाख करोडबाट बढाएर एक सय लाख करोड पुर्याइएको, गरिबका लागि चार गुणा बढी रकम खर्च गरेको र मुलुकको आर्थिक र सामरिक शक्तिमा वृद्धि भएको बताए । प्रधानमन्त्री मोदीले मुलुकमा आतंकवादका घटनामा कमी आएको र देशले सुरक्षाको अनुभूति गरेको पनि उल्लेख गरे ।
शान्ति सुरक्षा प्राप्त भएपछि प्रगति पनि आउने उनको भनाइ छ । मोदीले मजदुरवर्गको हितका लागि आगामी विश्वकर्मा जयन्तीमा १३ हजार करोडको योजना सुरु गर्ने घोषणा गर्दै प्रधानमन्त्री किसान योजना र आयुष्मान भारतजस्ता योजना पनि गरिबका लागि सुरु गरिएको दाबी गरे । उनले सम्पूर्ण मुलुक मणिपुरको साथ रहेको उल्लेख गर्दै केन्द्र सरकार राज्यसँग मिलेर शान्तिका लागि प्रयासरत रहेको बताए ।
तस्बिर : पीएमओ इन्डिया