सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • देश
  • माधव नेपालले भने– बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा मेरो सहयोगी भूमिका रहन्छ

माधव नेपालले भने– बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा मेरो सहयोगी भूमिका रहन्छ

  • सोमवार, साउन २९, २०८०
माधव नेपालले भने– बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा मेरो सहयोगी भूमिका रहन्छ

काठमाडौं—नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् ।

युरोप भ्रमणबाट आज बिहान स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने बताए ।

‘बालुवाटारको निवासभित्र कोही जाने हो भने त्यसले हेर्न सक्दछ र भन्न सक्दछ कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भनेपछि सम्भवतः मेरो नाम अरुभन्दा अग्रपंक्तिमै पर्ने छ,’ उनले भने, ‘बदमासीहरु त्यहाँ केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहने छ ।’

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास भएको प्रकरणमा नेपालको पनि नाम मुछिएपछि उनी विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् । उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनसायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई मुआब्जा नदिइकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताए ।

उनले आफूले कुनै गलत काम नगरेकाले नआत्तिएको बताए । ‘कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन,’ उनले भने ।

तर आफू विदेश जाँदा भागेको भनेर हल्ला फैलाइएको भन्दै त्यसप्रति चित्त दुखेको बताए । ‘कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे ।

माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो । गोली चल्ने बेलामा खाने बेलामा त नभाग्ने मान्छे बद्मासी र कुनै अपराध नगर्दा तर्सेर भाग्ने मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म । तपाईहरु सबैलाई थाहा होला,’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार