• होमपेज
  • देश
  • जनमतलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् हेरफेरको तयारी

जनमतलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् हेरफेरको तयारी

  • आइतवार, साउन २८, २०८०
जनमतलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् हेरफेरको तयारी

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै आज मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट अनितादेवी साहलाई प्रधानमन्त्री दाहालले मन्त्री नियुक्त गर्न लागेका हुन् ।

यसअघि असार २६ गते नै जनमत पार्टीले अनितादेवीको नाम सिफारिस गरेको थियो । तर त्यसको भोलिपल्टै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि उनको नियुक्त रोकिएको थियो ।

दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले २५ सदस्यीय भएकाले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदा वर्तमान एक मन्त्रीलाई हटाउनु पर्नेछ । संविधानमा मन्त्रिपरिषद गठन सम्बन्धमा प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने उल्लेख भएकाले नयाँ एक मन्त्री थप्दा कुनै एक मन्त्रीलाई हटाउनु पर्ने बाध्यता छ ।

प्रधानमन्त्री दाहालले आफ्नै दल नेकपा माओवादी केन्द्रका एक मन्त्रीलाई हटाएर अनितादेवीलाई मन्त्री बनाउने तयारी गरेका छन् । हाल माओवादीबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन् ।

जनमतलाई सरकारमा सहभागी गराउने भएपछि माओवादीबाट मन्त्री बनेका कसलाई हटाउने भन्ने विषयमा प्रधानमन्त्रीले अहिले नै नखुलाएको माओवादी नेताको भनाइ छ । यद्यपि, प्रधानमन्त्री दाहालले संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकलाई हटाउने तयारी गरेको स्रोतले बतायो । यी दुवै मन्त्रीको कार्यशैलीबाट प्रधानमन्त्री सन्तुष्ट छैनन् ।

गत असारमा सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्रीकै दलको कोटामा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने सहमति भएको थियो । जनमत पार्टी यसअघि पनि दाहाल नेतृत्वको संघीय सरकारमा सहभागी भएको थियो । तर मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै गत चैत १७ गते सरकारबाट बाहिरिएको थियो ।

जनमत पार्टीबाट खानेपानी मन्त्री भएका अब्दुल खानले आफूहरुले दाबी गरेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए । त्यसबेला जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार