• होमपेज
  • देश
  • रास्वपाका सांसदले संसद् अवरुद्ध भएको दिनको सेवासुविधा नलिने घोषणा

रास्वपाका सांसदले संसद् अवरुद्ध भएको दिनको सेवासुविधा नलिने घोषणा

  • शुक्रबार, साउन २६, २०८०
रास्वपाका सांसदले संसद् अवरुद्ध भएको दिनको सेवासुविधा  नलिने घोषणा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

संसद् भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद् नियमित गर्न सभामुख देवराज घिमिरेसँग लिखित आग्रह गरेको पनि जनाए ।

उनले संसद् नचलेको अवस्थामा कुनै पनि बेलामा हामीले हाजिरी मात्र गरेर तलब सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद् बैठक र अब हुने संसद् अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने घोषणा गरे । यसबारे पनि लामिछानेले सभामुख घिमिलेलाई पत्रमार्फत जानकारी दिएका छन् ।

‘हामीले सम्माननीय सभामुखज्यूलाई संसद् सुचारु गर्न र लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर हामीले औपचारिक रुपमा पत्र दिएका छौं ।

पत्र दर्ता गराएका छौं कि नेपाली जनताका महत्त्वपूर्ण पक्षमा हामीले कुराकानी गर्नुपर्नेछ र सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलबीचको एउटा खिचातानी छ, संसदीय छानबिन समितिका विषय लिएर मतभेद छ, त्यसलाई अन्त्य गरियोस् र चाँडै संसद खुलाइयोस् भनेर पत्र दर्ता गराएका छौं,’ सभापति लामिछानेले भने, ‘हामीले संसद् नचलेको अवस्थामा कुनै पनि बेलामा हामीले हाजिरी मात्र गरेर तलब-सुविधा लिनु हुँदैन भनेर हाम्रो दलको तर्फबाट संसद् नचलेको दिनको पैसा नलिने र त्यो व्यवस्था गरिदिन आग्रह गरेका छौं । काम नगर्दा नेपाली जनताले तिरेको करको पैसा लिनेकुरा स्वीकार्य छैन । संसद् अवरुद्ध भएका बेलामा प्राप्त हुने तलब सुविधा अघिका दिनका पनि काटिदिन आग्रह गरेका छौं ।’

सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने दाबी गरे ।

चर्चामा

सम्बन्धित समाचार