• होमपेज
  • देश
  • देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • शनिबार, साउन १३, २०८०
देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ — देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार बाँकेको राप्तिसोनारी गाउँपालिका-४ लठ्ठापुर चोकमा बा.५५ प ५०३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ बनघुस्री बस्ने ३० वर्षीय राम थारुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै दाङको दंगीशरण गाउँपालिका-५ संघारी चोकमा रगैचादेखि तुलसीपुरतर्फ जाँदै गरेको रा.६ प ७९५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक तुलसीपुर उपमहानगरपलिका-८ नयाँ बस्ती बस्ने १८ वर्षीय गगन घर्तीमगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता मोरङको बेलबारी नगरपालिका-३ स्थित सडकमा को.१ ख ६७१० नम्बरको ट्रक र ११ सु.ह.११४३ नम्बरको सिटी सफारी एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा सिटी सफारी चालक सुन्दरहरैचा नगरपालिका-११ गोविन्दपुर बस्ने ५० वर्षीय धर्मराज थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटी सफारीमा सवार १ जनाको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका-५ फिर्केपुलस्थित सडकमा ग.१८ प ९७७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया संगिता क्षेत्रीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको मेचीनगर नगरपालिका-१३ कालि झोडास्थित सडकमा मे.५ प २१८० नम्बरको स्कुटरलाई प्रदेश १-०१-००१ च ७१८४ नम्बरको पिकअप गाडीले शनिबार बिहान ठक्कर दिँदा स्कुटर चालक बुद्धशान्ति गाउँपालिका-३ बस्ने २४ वर्षीय योगेश श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार