• होमपेज
  • देश
  • देशभरका स्पाइनल सर्जन काठमाडौंमा

देशभरका स्पाइनल सर्जन काठमाडौंमा

  • शनिबार, साउन १३, २०८०
देशभरका स्पाइनल सर्जन काठमाडौंमा

काठमाडौं —  ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् । ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरु काठमाडौंमा भेला भएका हुन् ।

एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सकहरु भेला भएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले नेपालमा ढाडको बाँगोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए ।

ढाड बांगिने समस्या १६ वर्षमुनिका बच्चाहरुमा देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । तर, बाँगिने पनि २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरुले बताउँदै आएका छन् ।

चिकित्सकहरुका अनुसार ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । डा. बिजुक्छेले अस्पतालहरुबाट ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको बताए ।

‘कार्यशालामा देशभरका चिकित्सकहरुको सहभागिता छ । अर्थोपेडिक सर्जन जो स्पाइनल सर्जरी गर्न इन्ट्रेस्ट राख्नुहुन्छ । जसले भविष्यमा म स्पाइन सर्जरी गर्छु भनेर इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरुलाई हामीले समेटेका छौं’ उनले भने ।

काठमाडौं बाहिर पनि स्पाइनल कर्ड इन्जुरीको समस्या भएका बिरामीले सहज सेवा लिन सकुन् भनेर तालिम आयोजना गरिएको डा. बिजुक्छेले बताए । ‘यो तालिममा अर्थोपेडिक्स रेजिडेन्सहरु, अर्थोपेडिक्स सर्जन र स्पाइनल सर्जरी प्राक्टिस गरिरहेकाहरु सहभागी हुनुहुन्छ’ उनले भने ।

‘बच्चाको ढाडबारे विचार गरौं’

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष तथा हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.गौरवराज ढकालले ढाडको हाड बाँगिने रोग धेरैजसो बालिकाहरुमा देखिने गरेको बताए ।

‘नेपालमा बच्चा जन्मिसकेपछि आमाहरुले ढाडमा मालिस गरिदिने तेल लगाउने बानी हुन्छ । तेल लगाउँदाखेरि घोप्टो पारेर बच्चालाई तेल लगाइन्छ । त्यतिखेर ढाडमा आफ्नो औंलाले टाउकोदेखि तलसम्म ढाड कतै बाँगो छ कि सिधा छ भनेर विचार गर्ने गर्नुपर्छ । कतै सुन्निएको जस्तो छ कि भनेर ख्याल गर्नुपर्छ ।

बालिकाहरु विद्यालय जान थालेपछि अभिभावकले ढाड पछाडिबाट हेर्नुपर्छ । एउटा कुम अर्को कुम भन्दा माथि छ की ? ढाड अलिकति बांगिएको छ कि, सबै ठीक छ भनेर हेर्नुपर्छ, शिक्षकले पनि अब्जर्भ गर्नुपर्छ’ डा. ढकालले भने ।

चर्चामा

सम्बन्धित समाचार