• होमपेज
  • देश
  • माओवादी सांसदले पौडेलले भने : कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्

माओवादी सांसदले पौडेलले भने : कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्

  • बुधबार, साउन १०, २०८०
माओवादी सांसदले पौडेलले भने : कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्

काठमाडौं —  नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरेका छन् ।

नेकपा एमालेसहितका विपक्षी दलले विभिन्न अनियमितता प्रकरणमा अनुसन्धान सुरु गरेको तर जरोसम्म नपुगेको भनी प्रश्न गरिरहेका बेला सरकारको नेतृत्वकर्ता दल माओवादी सांसद पौडेलले सरकारलाई थप सहयोग आवश्यक परेको धारणा राखे ।

एक क्वीन्टल सुन अवैध रुपमा आयात भएको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको बारेमा संसदमा केही प्रश्नहरु उठेको उल्लेख गदै उनले भने, ‘म आफ्नो तर्फबाट बधाइ दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदैछ ।’

भ्रष्टाचार र अनियमितताको विषयमा सरकार अगाडि बढ्दा सांसदहरुले टाउको दुखाउन नहुने पौडेलले बताए । ‘भ्रष्टाचारसित सम्बन्धित कतिपय विषयहरुको सरकार छानबिन गर्ने प्रक्रियामा अगाडि बढेको छ । माननीयजीहरुलाई टाउको नदुखाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु’, उनले थपे, ‘कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस् ।’

उनले सरकारलाई भ्रष्टाचारसँग सम्बन्धित उठेका प्रश्नहरुको बारेमा छानबिन गरेर, व्यक्तिको अनुहार नहेरी व्यक्तिको काम, शैली, तरिका र गल्ती हेरेर आफ्को क्रियाकलाप अगाडि बढाउन आग्रह गरे ।

सुशासनका लागि काम गर्दा प्रश्न गर्न नहुने उनको भनाइ छ । उनले प्रश्न गरे, ‘आज सरकारले अलि अलि केही प्रश्न, केही विषयहरु उठाउन खोज्दा हामी सबैले चिच्याएर, विरोध जनाएर, असहमति प्रकट गरेर हामी यस प्रकारका क्रियाकलापहरुलाई राज्यको तर्फबाट छानबिन गर्ने प्रक्रियालाई अगाडि बढाृउने कुरा रोक्छौं भने हामीले कुन प्रकारको सुशासनको प्रत्याभूति नागरिकलाई दिन चाहन्छौं ?’

कुन दलको हो भन्ने नहेरी सुशासनको काम अगाडि बढाउन सरकारलाई उनको आग्रह छ । देशमा सहकारी पीडितहरुको समस्या पनि अगाडि आएको भन्दै पौडेलले यस विषयमा पनि काम गर्न आवश्यक रहेको सुझाव दिए ।

‘म आफैँ रहेको जिल्लामा इमेज सहकारी र शिवशिखर सहकारीले यी दुईवटा सहकारीले ५० हजार भन्दा धेरै नागरिकको ८ अर्ब भन्दा बढी ठगेका छन्’, उनले भनेका छन्, ‘यस प्रकारका घटनाहरु देशैभरि छन् । यस प्रकारका घटनाहरुमा सहभागी भएका दोषी उपर पनि छानबिन हुनुपर्छ ।’

संसदमा विपक्षी दलहरुले ठूला माछा छाड्ने र साना माछा समात्ने कार्य हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

यसतर्फ लक्षित गर्दै उनले भने, ‘माछा सानो ठूलोको प्रसंग होइन यहाँ । दोषीलाई कारबाही गर्ने कुरा हो, दोषीलाई कारबाही गर्दा खुसी हुनुपर्ने हो नि । यस प्रकारका घटनाहरुमा अझ अगाडि बढेर छानविन होस् ।’

सरकारको कामको प्रसंसाा गर्दै उनले दोहो¥याए, ‘सरकारको यो प्रयत्नलाई म त हार्दिक सलाम व्यक्त गर्न चाहन्छु ।’

चर्चामा

सम्बन्धित समाचार