सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • चुनौती दिने प्रतिपक्षीबिनै कम्बोडियामा आम चुनाव

चुनौती दिने प्रतिपक्षीबिनै कम्बोडियामा आम चुनाव

  • आइतवार, साउन ७, २०८०
चुनौती दिने प्रतिपक्षीबिनै कम्बोडियामा आम चुनाव

काठमाडौं  —  कम्बोडियामा आज निर्वाचन हुँदैछ । विश्वकै लामो समय शासनमा रहेका प्रधानमन्त्री हुन सेनले प्रतिपक्षीविनै त्यहाँ चुनाव गराएका छन् । यसअघिका कार्यकालमा झै यसवर्ष पनि त्यहाँको चुनावमा सत्तापक्षले धाँधली गरेको पर्यवेक्षकहरूको भनाइ छ ।

केही वर्ष पहिले कम्बोडियाका शासकले प्रतिपक्षी तह लगाउन निकै नै निर्दयी कदम चालेका थिए । प्रतिपक्षी दल र त्यसका नेता प्रधानमन्त्री र उनको दलभन्दा लोकप्रिय बनेपछि हुन सेनले अदालतको सहारा लिएर प्रतिपक्षी दल नै भंग गरिदिएका थिए ।

उनी त्यतिमै रोकिएनन्, प्रतिपक्षी दलका सांसदलाई संसदबाट हटाए, नेताहरूलाई गिरफ्तार गरे ।

आफ्ना विपक्षीलाई तह लगाएको ६ महिनापछिको निर्वाचन भयो । सन् २०१८ मा भएको निर्वाचनमा १२८ सिटको संसदमा सबै सिट हुन सेनको दल कम्बोडियन पिपल्स पार्टीले जित्यो ।

आइतबारको निर्वाचन परिणाम पनि त्यस्तै हुनेवाला छ । मतदाताले विकल्प छान्न पाउनेछैनन् । ‘यो निर्वाचन पनि पूर्णतया धाँधलीवाला नै छ । त्यहाँ कुनै बलियो प्रतिपक्षीको उपस्थिति छैन’, पोनम फेनका एक मतदाता भन्छन् ।

७० वर्षका हुन सेनले कम्बोडियामा सन् १९८५ देखि शासन गरेका थिए ।

कम्युनिस्ट पार्टी अफ कम्पुचेको क्रुर शासक पतन हुन अगावै हुन भियतनाम भागेका थिए । शक्तिमा अस्तित्ववादी आशक्तिका कारण उनी विश्वकै सबैभन्दा लामो शासन गर्ने प्रधानमन्त्री बन्न पुगे ।

४० वर्षयता उनले कम्बोडियाको शासनसत्ता आफ्नो मुठ्ठीमा राखेका छन् । सेना, प्रहरी, गुप्तचर संस्थाको साथबाट उनले आफ्नो शक्तिलाई बलियो बनाउँदै लगेका छन् ।

कम्बोडिया विगत ३ वर्षदेखि प्रतिपक्षीविहीन छ । किनभने हुन सेनले कतिपयलाई आफ्नो दलमा समाहित गरे । कतिलाई जेल र निर्वासन पठाए । उनले प्रतिपक्षीलाई किनारा लगाइछाडे ।

संयुक्त राष्ट्रसंघले खमेर रुज शासनको पतनसँगै सन् १९९० मै कम्बोडियालाई प्रजातान्त्रिक मुलुकका रूपमा स्थापित गरेको थियो । राजनीतिक विश्लेषकहरू कम्बोडिया अहिले सर्वसत्तावादी एकदलीय राज्य भएको र हुन सेन एक तानाशाह भएको बताउँछन् ।

पोनम फेनमकै अर्का मतदाता भन्छन्,’वर्तमान स्थितिबारे म निकै निराश छु । म २० वर्षको हुँदा परिवर्तनको अपेक्षा बोकेर प्रतिपक्षी दललाई मत हालेको थिएँ । अहिले कम्बोडिया प्रतिपक्षीविहीन छ ।’

मतदाताको विकल्प छनौटको अधिकारलाई हुन सेनले धुलिसात पारे । चुनावको समयमा सरकारको आलोचना गर्न अहिले सबैजना डराउँछन् ।

४० वर्ष शासन गरेका हुन सनेले कम्बोडियालाई गरिबीबाट माथि उकास्न सकेका छैनन् । कम्बोडिया एशियाकै गरिब राष्ट्रमध्येमा पर्छ । कम्बोडियाका बासिन्दा महंगी र गरिबीको चपेटामा छन् । आपराधिक क्रियाकलाप पनि त्यहाँ उत्तिकै छ । यस्तो अवस्थामा हुन सेन फेरि प्रधानमन्त्री बन्दैछन् । ‘यसले जनतालाई प्रतिनिधिविहीन बनाउनेछ । कसैले पनि त्यहाँ जनताको आवाज बोल्नेछैन । त्यसैले सबै मतदाता मौन छन्’, अर्का मतदाताले भने ।

देखावटी मतदान

हुन सेनले शासन अब आफ्नो छोरालाई सुम्पिने तयारी गरेका छन् । तर कहिले हस्तान्तरण गर्छन् भन्ने टुंगो छैन । शासनको अन्त्यतिर हुन सेन अति नै दमनकारी र प्रतिशोधकारी हुने धेरैले आकलन गरेका छन् । यो चुनावअघि उनले प्रतिपक्षीलाई प्रतिबन्ध लगाउनुअघि निकै नै साथ दिएका थिए ।

क्याण्डललाइट पार्टी विगतको प्रतिपक्षीको अस्तुबाट उत्पत्ति भएको थियो । व्यापक दमन र धम्कीकाबीच कम्युन चुनावमा त्यस दलले २२ प्रतिशत सिट जितेको थियो ।

यो विषय हुन सेनलाई सह्य भएन । क्याण्डललाइट आफ्नो लागि खतरा रहेको महशुस भएलगत्तै उनले त्यस दललाई प्रतिबन्ध लगाएको निरंकुश शासकबारेका अध्यता ली मोरनबेस्सर भन्छन् ।

हुन सेनले क्याण्डललाइटका नेताविरुद्ध मुद्दा दर्ता गराउन लगाए । फेब्रुअरीमा त्यस दलका नेताहरुविरुद्ध मुद्दा दर्ता भयो । मेमा निर्वाचन कार्यालयले पार्टीनै खारेज गरिदियो ।

कम्बोडियाको मतपत्रमा १७ दलको चिह्न हुनेछ तर ती सबका सब सत्तारुढ दल निकट हुन् । ‘हामीले उचित स्रोतको उपयोग गर्दै पार्टीको प्रचार व्यापक बनाएका थियौँ । सबै सिटमा उम्मेदवारी दिनेगरी हाम्रो तयारी भएको थियो तर बीचमै नयाँ नियम घुसाउँदै हाम्रो दललाई षड्यन्त्रपूर्वक खारेज गरियो’, क्याण्डललाइटका एक प्रतिनिधिले भने ।

यस दलका नेताका लागि कम्बोडिया खतरा छ । क्याण्डललाइटका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । यसै साता थाइल्याण्डबाट कतिपय नेताहरु गिरफ्तार भएका थिए ।

लोकतान्त्रिक पतनको दशक

हरेक चुनावमा कम्बोडियामा हिंसा र धाँधली हुने गर्छ । तर सन् २०१८ को निर्वाचन अघिसम्म त्यहाँको चुनाव प्रतिस्पर्धीनै हुने गरेको थियो । प्रतिपक्षी दलका लागि चुनाव कठिन भएपनि उनीहरूले सहभागिताको मौका पाउँथे ।

सत्तामा जाने वैधानिक बाटो उनीहरुका लागि अप्ठ्यारो भएपनि खुला भने थियो । सन् २०१७ को अन्त्यतिर त्यहाँ प्रतिपक्षी दलहरूले गठबन्धन बनाए । सम रेन्सी र केम सोखा मिलेर कम्बोडियन नेशनल रेस्क्यु पार्टी गठन भयो । उनीहरूले ४४ प्रतिशत मत ल्याउँदा हुन सेनलाई असह्य भयो । त्यस रात कम्बोडियाका जनताले शासन फेरिन सक्ने संकेत पाएका थिए ।्

मतगणना जारी रहँदा १० औँ हजारले र्‍याली निकाले । ‘कम्बोडियाका जनतामा त्यसबेला छुट्टै उत्साह देखिएको थियो । उनीहरुले निकै जोसका साथ र्‍याली निकालेका थिए । व्यवस्था परिवर्तन हुने अपेक्षा उनीहरूले राखेका थिए’, विश्लेषक एस्ट्रिड नोरेन निल्सन बताउँछन् ।

यो निर्वाचनमा पनि हुन सेनकै दल विजयी भएपछि कम्बोडियामा एक महिना लामो आन्दोलन चलेको थियो । आफ्नो शासनकालमा हुन सेनलाई सबैभन्दा बढी चुनौती त्यसैबेला आइलागेको थियो । सत्तामा जोखिम बढेपछि हुन सेन केही सम्झौता गरी आन्दोलनलाई मत्थर पार्न अग्रसर भए ।

पछि हुन सेनले संसदबाट बहुमतको आडमा आफूमाथि चुनौती थप्ने पार्टी खारेजीको कानुन नियतसहित कानुन ल्याए । त्यसपछि उनले सर्वोच्च अदालतलाई समेत हातमा लिएर प्रतिपक्षी दल सीएनआरपी खारेज गरिदिए । त्यहीबेला त्यस दलका १०० भन्दा बढी कार्यकर्ता गिरफ्तारमा परे ।

हुन सेन यत्तिमै रोकिएनन् । उनले लोकतान्त्रिक संस्थाहरू सबैलाई धरासायी बनाए, समाचार संस्था बन्द गराए । अधिकारकर्मी समूहलाई मुलुकबाट खेदे ।

हुन सेन अधिनायकवादी र तानाशाही बन्दै गएपछि अमेरिकाले सन् २०१९ मा अमेरिकाले कम्बोडियाका उच्च अधिकारीमाथि प्रतिबन्ध लगायो । युरोपेली संघले सन् २०२० मा व्यापार प्रतिबन्ध लगायो । तर उनलाई चीनले भने निरन्तर साथ गरिरह्यो ।

अमेरिका र युरोपेली संघको प्रतिबन्धले पनि उनी सुध्रिएनन् । उनले प्रतिपक्षीमाथिको दमन र ज्यादती जारी राखे । हुन सेनले क्याण्डललाइटका नेता भड्काउमा लागेको बन्दै उनीहरूलाई फौजदारी अभियोगमा गिरफ्तार गरे । कतिपयको सम्पत्ति खोसे ।

गत मार्चमा हुन सेनले सीएनआरपीका नेता खेम सोकालाई अदालतको प्रयोग गरी २७ वर्ष जेल हाले । यो कदमको राष्ट्रसंघदेखि विभिन्न मानवअधिकारसँग सम्बन्धित निकायले विरोध गरेका थिए ।

हुन सेन सरकारी जागिर र जमिनको प्रलोभन देखाएर मानिसहरुलाई प्रभावित पार्न खोज्छन् । तर यस वर्षदेखि उनको शासनप्रतिको वितृष्णाको लहर बढ्दै गएको छ ।

अब त ट्रेड युनियनदेखि किसानका समूहले समेत उनको विरोध गर्न थालेका छन् । विरोधीहरूलाई हुन सेन आफ्नो पार्टीमा समाहित हुने प्रस्ताव गर्छन् र नभए उनीहरूमाथि दमन गर्छन् । हुन सेन सार्वजनिक रूपमै प्रतिपक्षीलाई धम्की दिन्छन् ।

मार्च अप्रिलमा क्याण्डलाइटका धेरै सदस्यहरू आक्रमणमा परेका छन् । यो साता ह्युमन राइट्स वाचले सरकारले नै उनीहरूमाथि हमला गराएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

चुनावमा मतदातालाई प्रलोभनमा मात्रै होइन धम्की दिने काम पनि भइरहेको छ । हुन सेनले चुनावी कानुन यस्तो कडा बनाएका छन् कि कसैले पनि चुनाव बहिस्कारको अभियान चलाउन पाउनेछैन । यदि गरेमा उनीहरुलाई ५ हजार डलर जरिवाना गरिनेछ । त्यसैले प्रतिपक्षी विहीन चुनावमा मतदाता जसरी पनि मत खसाल्न विवश छन् ।

हुन सेनपछि के होला?

क्याण्डललाइटलाई चुनावमा सहभागिताका लागि अयोग्य घोषणा गरियो । यसकोविरुद्ध सडका उत्रिनका लागि त्यस दलका नेताहरुले आह्वान समेत गरेका थिए ।

यसका नेता सम रेन्सीले निर्वासनबाटै मतदान बहिष्कारको अपिल समेत गरेका छन् । ‘खेललाई लयमा फर्काउनका लागि क्रिजमा हामी केही खेलाडी मात्रै बाँकी छौँ । हाम्रो जोसलाई जतनले बचाएर हामी विस्फोटक इनिङ्स खेल्नेछौँ’, एक नेताले भने ।

सबैले झैँ क्याण्डललाइटले पनि हुन सेनकै सत्ता बर्हिगमन कुरिरहेको छ । ‘हुन सेनको बहिर्गमनको अर्थ उनको मृत्यु हो । त्यसअघि अघि संभव छैन’, एक पश्चिमा कुटनीतिज्ञले भने, ‘हामीले त्यहाँ नागरिक थलो बनाउनका लागि सक्दो सहयोग गरिरहेका छौँ । जहाँ सबै हुन सेन कालपछिको कम्बोडियाको प्रतिक्षा गरिरहेछन् ।’

पश्चिमा मुलुकमा पढेका उनका छोरा हुन म्यानेटले शासन हातमा लिएपछि केही परिवर्तन आउन सक्ने अपेक्षा धेरैले राखेका छन् । ‘हुन सेनका छोरा असाध्यै प्रजातान्त्रिक छन् त म भन्न सक्दिँन तर उनी सुधारवादी छविका छन्’, ती कुटनीतिज्ञले भने । छोराको शासनकालमा पनि बागडोर बुबाले नै सम्हाल्न सक्ने डर भने जीवितै छ ।

कम्बोडियनको आशाप्रति उपप्राध्यापक मोर्गन बेस्सर भन्छन्, ‘मानिसलाई आशाले नै जीवित राख्छ ।’ कम्बोडियन जनताले हुन सेनको शासनबारे के सोच्छन् भन्ने कुरा उनीहरुले सार्वजनिक रूपमा राखेका छैनन् । उनीहरुले व्यक्तिगत रूपमा के सोच्छन् भन्ने कुरा सार्वजनिक पनि गर्ने छैनन् । तर उनीहरु परिवर्तनप्रति आशावादी छन् । मुर्छा परेको लोकतन्त्र मुर्झाउने आशा जनतामा जीवितै छ ।

राजनीतिक दल, नागरिक समाज अधिकारकर्मी सबका सब हुन सेनको सत्ता हस्तान्तरण कुरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार