शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण गरिएको रामायण भवन प्रयोगविहीन

आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण गरिएको रामायण भवन प्रयोगविहीन

  • शुक्रबार, असार २९, २०८०
आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण गरिएको रामायण भवन प्रयोगविहीन

तनहुँ —  तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन प्रयोग प्रयोगमा आउन सकेको छैन । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण गरिएको रामायण भवन प्रयोगविहीन अवस्थामा रहेको छ ।

पश्चिमाञ्चल विकास मञ्चले तीन वर्षअघि ३ करोडको लागतमा निर्माण सम्पन्न गरेको उक्त रामायण घर प्रयोगविहीन भएको छ । रामायण घर प्रयोगमा नआउनु र संरक्षण नहुँदा अलपत्र र जीर्ण बन्दै छ । प्रयोगमा नआउँदा उक्त घरमा ताला लगाएर राखिएको छ ।

घर निर्माण गरिए पनि रामायण घरका लागि आवश्यक भित्री संरचनाहरू बनाउन बाँकी रहेको भानुभक्त जन्मस्थल विकास समिति तनहुँले जनाएको छ । समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले रामायण घर निर्माण गरिए पनि त्यसको संरक्षण गर्न नसकिएको बताए।

५० रोपनी क्षेत्रफलमा रामायण घर निर्माण गरी अन्य संरचना निर्माणका लागि गुरुयोजना तयार भए पनि बजेट अभावले कुनै पनि काम अगाडि बढाउन नसकिएको उनको गुनासो छ ।

रामायण घरमा पुग्दा झ्याल, ढोका राखिएको देखिन्छ । उक्त घरका सिसा फुट्न थालेका छन् भने काठ धमिराले खान थालेको छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले आदिकवि भानुभक्त आचार्यको नामबाट नै नामकरण गरिए पनि उनइीसँग सम्बन्धित रामायण घरको संरक्षण गर्न नसकेको स्वीकार गरे।

‘भानु जन्मस्थल अहिले संघ सरकार मातहत रहेको छ, भानु जन्मस्थलको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार र संघ सरकारबाट बजेटको व्यवस्थापन हुने हुँदा नगरपालिकाले कुनै पनि कार्य गर्न सकेको छैन, तर पनि समन्वय गरेर काम गर्ने तयारीमा छौं’, नगर प्रमुख त्रिपाठीले भने– ‘रामायण घरको संरक्षणका लागि एक जना पालेसमेत राख्न सकिएको छैन ।’

पालिकाभित्रको साहित्यिक स्थल भए पनि संरक्षणप्रति चासो नदेखिएको स्थानीयको भनाइ छ । संरक्षणको अभावले गर्दा पछिल्लो समयमा भवनका सामग्री चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र गफिने स्थल बन्दै गएकोमा दुःख लागेको स्थानीय पम्फा परियारको भनाई छ।

रामयण घरसम्म पुग्ने सडक सहज नहुँदा यहाँ घुम्न आउने पर्यटक र स्थानीयलाई समस्या भएकोसमेत परियारको भनाई छ ।

भानुभक्तसँग सम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवद्र्धन र प्रचार गर्ने उद्देश्यका साथ स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, स्थानीय निकाय र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्मस्थलप्रति गरेको बेवास्ताले रामायण घर अलपत्र परेको बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार