आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आयुर्वेद
  • घरमा साङ्लाले हैरान बनाएको छ ? बजारमा पाइन्छन् यी सामग्री

घरमा साङ्लाले हैरान बनाएको छ ? बजारमा पाइन्छन् यी सामग्री

  • बुधबार, असार २०, २०८०
घरमा साङ्लाले हैरान बनाएको छ ? बजारमा पाइन्छन् यी सामग्री

वर्षायाममा घरमा साङ्लाले निकै सताउँछ । अघिपछिभन्दा यो मौसममा साङ्लाको संख्या तीव्र बढ्छ । बाथरुम वा भान्छाको पानीको पाइप हुँदै अधिकांश घरमा साङ्लो पस्छ । यसले फोहोर मात्र बनाउँदैन खानेकुरा, पकाउने भाँडामा बसेर रोग फैलाउने गर्छ ।

साङ्लाको आगमन रोगको खतराको संकेत हो । किनभने जबसम्म साङ्ला रहिरहन्छ, तबसम्म रोगले घेरिरहन्छ । घरको भान्सा हुँदै विस्तारै साङ्ला घरको हरेक कुनामा देखिन्छ । हैरान पार्ने यसमा खुबी के छ भने यसमा प्रजनन् क्षमता अत्यधिक धेरै हुन्छ । जसले गर्दा यसलाई पूरा सखाप पार्न मुश्किल हुन्छ । यसको वास्तविक उद्देश्य घरको भान्छामा आफ्नो घर बनाउने हो ।

साङ्लाको संख्या अत्यधिक धेरै हुने हुँदा हातले मारेर सम्भव हुँदैन । त्यसैले घरमा साङ्लाको आतंकबाट हैरान हुनुहुन्छ भने यी बजारमा पाइने ६ प्रकारका सामग्रीबाट समाधान बन्न सक्छ । यसले पूरै सखाप पार्न नसके पनि साङ्लाको संख्या न्यून गर्न भने सक्छ ।

१. एन्टिरोच जेल

बजारमा पाइने एन्टिरोच जेल साङ्ला भगाउने प्रभावकारी सामग्री हो । किनभने यसमा साङ्लालाई आकर्षित गर्ने तरलता हुन्छ, जसको एक थोपा पनि साङ्ला मार्न पर्याप्त हुन्छ ।

साङ्लालाई त्यो झोलले आकर्षित गर्छ र जब त्यो औषधि साङ्लाले खान्छ, २–३ घन्टापछि साङ्ला मर्न थाल्छ । यो औषधि प्रयोग गर्न पनि सजिलो छ । भान्सादेखि घरको कुनाकाप्चा नछोडी यो झोल १०-२० थोपा राख्दिनुपर्छ । धेरै साङ्ला साँघुरो ठाउँमा आउँछन् ।

२. रेड हिट कक्रोच किलर स्प्रे

रेड हिट कक्रोच किलर स्प्रेले घरमा रहेका साङ्ला तुरुन्तै हटाउन सकिन्छ । यसले तुरुन्तै साङ्ला मार्न सकिने भएकाले धेरैले यसको प्रयोग गर्छन् ।

३. मोर्टिन टु इन वान

मोर्टिनको खुबी साङ्लो मात्र नभई अन्य लामखुट्टे र कीराहरु पनि मार्न सक्छ । त्यसैले पनि यसलाई टु इन वान पनि भनिन्छ । घरबाट साङ्ला हटाउन सबैभन्दा पहिला बोतल एकछिन हल्लाउने अनि साङ्ला भएको ठाउँमा मोर्टिन छर्किनुपर्छ ।

४. बेगन

सबैभन्दा शक्तिशाली साङ्ला मार्ने नाम चलेको औषधि बेगन स्प्रे पनि हो । यसबाट निस्किने जेलले साङ्लालाई आफूतर्फ आकर्षित गर्छ र त्यसलाई खान बाध्य बनाउँछ जसले साङ्ला मर्छ ।

यो जेल खाएर साङ्ला संक्रमित हुन्छ र अन्य साङ्लालाई पनि संक्रमण फैलाउँछ । जसकारण अरु साङ्ला पनि मर्छन् ।

यसमा प्रयोग हुने केमिकल कडा हुने भएकाले छाला, आँखा र कपडामा पार्नु हुँदैन । त्यसैले, स्प्रे छर्किंदा सावधानी अपनाउनुपर्छ । त्यस्तै, घरपालुवा जनावर, बोटबिरुवा र भाँडामा पनि पर्न दिनुहुँदैन ।

५. लक्ष्मणरेखा

लक्ष्मणरेखा पनि साङ्ला मार्ने उत्कृष्ट उत्पादन हो । यो उत्पादन नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै रुचाइएको छ । लक्ष्मणरेखाको प्याकेटमा चक हुन्छ । चकले धर्को घरको ठाउँठाउँमा कोर्ने र साङ्लाले त्यो धर्को नाघेमा मर्छन् ।

६. कोक्रोज किलिङ बेट

कक्रोज किलिङ बेट पाउडर साङ्लालाई मात्र नभई त्यसको अण्डालाई पनि मार्न प्रभावकारी छ । यसको धुलो साङ्ला आउने ठाउँमा छर्नुपर्छ । यो केमिकल फ्री पाउडर भएको कारण वातावरणमैत्री पनि रहेको छ ।

मूल्य कति पर्छ ?

बजारमा उपलब्ध यस्ता उत्पादनको ग्राम फरक–फरक हुन्छ । सोहीअनुसार यसको मूल्य पनि फरक पर्न जान्छ । सामान्यतया २०० देखि यसको मूल्य सुरु हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार