बिषय प्रबेशः
अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ।यस बर्ष यो पर्ब असार १८ गते परेको छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।सकेसम्म भेटेर नभए सामाजिक सञ्जाल फेसबुक,ट्वीटर तथा इन्स्टाग्रामबाट भएपनि धेरैले आफ्ना गुरु प्रति श्रद्धाभाव प्रकट गरेको पाइयो।
गुरुको र गुरु पूर्णिमाको अर्थः.
“गु” को अर्थ अन्धकार हो र “रु” को अर्थ अन्धकारलाई चिर्ने उज्ज्यालो हो।त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन्, ती महान् व्यक्ति नै गुरु हुन । ती मात्र गुरु हुन जसले हाम्रो मन भित्र भएको अन्धकाररुपी माया मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउन सक्छन्, उनै साक्षात् गुरु हुन।गुरु नै सर्वशक्तिमान प्रभु हुन ।हिन्दुहरुका गुरु ग्रन्थहरु चार बेद र अठार पुराण तथा महाभारतको रचना गरेको हुनाले त्यस्ता महान ब्यक्ति बेदब्यास जन्मेको दिनलाई गुरुपूर्णिमा भनिएको हो ।
गुरुको महत्वः
“गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परब्रह्मः तस्मै श्री गुरवे नमः”
गुरु ब्रह्मा, विष्णु, महेश्वर सबै हुन्, अर्थात् गुरु साक्षात् परमेश्वर परब्रह्म हुन् भनिएको छ। गुरुले असत्यबाट सत्यतर्फ, अँध्यारोबाट उज्यालोतर्फ र मृत्युबाट अमरत्वतिर जाने बाटो बताइदिन्छन्। गुरुले बताएको यही मार्गलाई पछ्याएर शिष्यले आफ्नो जीवनलाई सफलताको मार्गतिर डोर्याउने गर्छ। त्यसैले शिष्यले जुन प्रगति गरेको हुन्छ, त्यहाँ गुरुको ज्ञानको अहम् भूमिका हुने गर्छ।परापूर्व कालमा गुरुकुलमा बसेर शिक्षा लिने चलन थियो | वर्षौंसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो ।
समयले अब काचुली फेर्यो तर गुरुको महत्त्व कहिले कम भएन । गुरुकुल होस्, विश्वविद्यालय, वा अरु कुनै कला मन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन् ।ती हाम्रा गुरु हुन जसले अज्ञानताको अँध्यारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवनलाई सुन्दर बनाउने बाटो देखाउनु भएको छ | आजका सबै आविष्कारहरु- सबै हाम्रा महान् गुरुको शिक्षा र ज्ञानका उपक्रमहरु हुन । जसले गुरुको महत्त्व बुझेको छ, उसले ज्ञानकोको महत्त्व बुझेको छ । उसैले नै जीवनको पनि महत्त्व बुझेको हुन्छ | जस्लेहाम्रो जीवनमा सत्य र ज्ञानको अमूल्य ज्ञान दिन्छन् ती नै हाम्रा गुरु हुन ।
गुरुको सारतत्वः
॥ ॐ श्री गुरुभ्यो नमः ॥ सबै गुरुहरुलाई नमस्कार छ।
“अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः” ।।
अर्थात्— जसबाट अखण्ड मण्डलका रुपमा रहेका चराचर समेतलाई ओगटेको छ त्यस महान् स्थानलाई जसले साक्षात्कार गराउनुभयो ती गुरुलाई अभिवादन गर्दछु ।
“ॐ सह नाववतु, सह नौ भुनक्तु । सह वीर्यं करवावहै,
तेजस्वि नावधीतमस्तु मा विद्विषावहै । ॐ शान्तिः शान्तिः शान्तिः” ॥
अर्थात् हे ईश्वर ! तपाईले हामी दुई गुरू र शिष्यको साथ- साथ रक्षा, पालन-पोषण, शक्ति प्राप्तगर्न, प्राप्त भएको विद्या तेजस्वीतामा परस्पर द्वेष नगरी, परस्पर स्नेह गरेर रहन सक्ने शक्ति प्रदान गर्नुहोस्।ज्ञान प्राप्तिका लागि एकलव्यले जस्तो द्रोणाचार्यको ज्ञान लुकेर सिक्नु पर्दैन।
गुरुको महिमा र गुरु दक्षिणाको प्रसंग
हिन्दु धर्मशास्त्रमा महत्वपूर्ण लोकोक्ति रहेको छ कि भिष्मको जस्तो प्रतिज्ञा,कुबेर जस्तो धनी र एकलब्य जस्तो गुरुभक्त होस तब पो महिमा हुन्छ।
हिन्दुसमुदायमा एकलब्यको गुरुभक्तिलाई उच्चकोटीको सम्मान गर्ने गरिन्छ।एकलब्यले आफ्नो गुरु दोर्णाचार्यको प्रतिमा बनाएर उक्त प्रतिमालाई साक्षी राखेर आफ्नो धनुबिद्या आर्जन गरेको र एकदिन गुरुसंग भेट हुँदा उनले उक्त प्रसंग निकालेको अवस्थामा गुरुले दक्षिणा स्वरुप बुढी औला माग गरेकाले गुरुलाई आफ्नो बुढीऔला नै काटेर दान गरेको बिषय आज पनि उत्तिकै महत्वसाथ हेर्ने गरिन्छ।
हामी सबैको पहिलो गुरु को हन ?
‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव । त्वमेव बिद्या च द्रविणम त्वमेव, त्वमेव सर्वमम देवदेव ।।’ एउटा बालक जन्मे पछि बोली सिकाउने माता र कर्म दिने पिता नै सबै भन्दा पहिला गुरु मानिन्छन।त्यसपछिको स्थान शिक्षा दिने गुरुलाई जान्छ।
दार्सनिक गुरुहरुः
सोक्रेटस, प्लेटो, अरस्तु सबै योग्य शिक्षक थिए।सोक्रेटसले आफैलाई चिन भनेर सिद्धान्त प्रतिपादन गरे भने प्लेटोले रिपब्लिक वा गणतन्त्र शासन ब्यवस्थाको कल्पना गरेको र अरस्तुले त साम्यवादैकै ओकालत गरेर संसारका दार्शनिक तथा शासकहरुलाई नयाँ चुनौती दिएको बिषय आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।हब्स, जोन, लक र रुसो जस्ता दार्सनिक गुरुहरुले सामाजिक सम्झौताको सिद्धान्तबाट समाजको बिकास भएको बिषय संसारलाई सुम्पेर गएका छन।त्यसै गरी दाते, सिसेरो जस्ता दार्सनीकहरु युरोपमा बौद्धिक क्रान्तिका गुरु हुन। शेक्सपियर, जर्ज बर्नाड सा जस्ता महान साहित्यकार हुन वा बिसौ सताप्तीको महान बैज्ञानिक भनेर चिनिएका अल्वर्ट आइनस्टाइन र जोन हककिन्स सबे गुरुहरुकै सूचीमा पर्दछन .
बर्तमानमा गुरुलाई कसरी ब्याख्या गर्न सकिन्छः
“को हो सबैले गुरु भन्नु पर्न्या, जो हो हितैको उपदेश गर्न्या” भन्ने कबिता बडा महत्वपूर्ण छ। यस प्रसंगमा गुरु को हो त ? भन्ने कुराको चर्चा पनि आवश्यक छ। समाजमा प्रायः औपचारिक रूपमा पुस्तकीय ज्ञान दिने र जनैधारीलाई व्रतबन्धका समयमा गायत्री मन्त्र दिने व्यक्तिलाई गुरु भन्ने मान्यता प्रचलनमा छ।
के गुरु भनेका ती मात्र हुन् ? यसलाई हामीले गहिरिएर हेर्यौँ भने त्यो अर्थलाई मात्र गुरु शब्दले टिप्दैन, किनभने मानिसको सिकाइ जन्मदेखि मृत्युसम्म चलिरहेको हुन्छ। त्यसैले विद्यालय, महाविद्यालय वा अन्य ठाउँमा पुस्तकीय ज्ञान दिने वा मन्त्र दिने मात्र गुरु हो भन्ने कुरामा साघुरो दायरा देखिन्छ। त्यसो भए नयाँनयाँ कुरा सिकाउने सबै गुरु हुन् त ? भन्ने अर्को प्रश्न पनि आउँछ। यसलाई मान्ने हो भने हामीले प्रत्येक क्षण नयाँनयाँ कुरा सिकिरहेका हुन्छौँ। ती सबैलाई गुरु मान्दै जाने हो भने गुरुको संख्या अनन्त हुन्छ।
त्यसैले गुरु भनेको को हो भन्ने सम्बन्धमा हामीले खास आधारलाई लिनुपर्ने हुन्छ। ज्ञानको आधार निकै फराकिलो भए पनि धार्मिक/दार्शनिक सन्दर्भका आधारमा जीवन र जगत्लाई बुझाई धर्म, अर्थ, काम र मोक्षसम्मको यात्रालाई उत्प्रेरित गर्न सक्ने व्यक्तिलाई गुरु भन्न सकिन्छ भने अन्य सन्दर्भमा आफ्नो जीवनलाई अग्रगति दिन विशेष महत्वको ज्ञान दिने व्यक्तिलाई नै गुरु भन्न सकिन्छ।
पौराणिक सन्दर्भ अनुसार दत्तात्रयले आफूले स्थावर जङगलका विभिन्न व्यक्ति र वस्तुबाट अनौपचारिक तहका गुरुबाट अप्रत्यक्ष रूपमा विशेष ज्ञान प्राप्त गरेको र त्यसलाई जीवनमा क्रियात्मक रूपमा उपयोग गरेकाले यो सम्भव भएको बताएका छन्।
उनले मानेका २४ गुरुमध्ये एक पृथ्वी हुन्। पृथ्वीबाट उनले सहनशीलताको शिक्षा लिएका थिए भने वायुबाट सँगै रहेर पनि कुनै पनि कुरामा लिप्त नहुने, आकाशबाट आत्माको व्यापकता, जलबाट मधुरता, स्वच्छता र स्निग्धता, सूर्यकिरणबाट व्यापक भएर पनि निर्लिप्तता, चन्द्रमाबाट शक्तिको घटबढ भएर पनि स्वभावमा अपरिवर्तनशीलता तथा चराबाट बच्चाको मोहले जालमा पर्न सकिने भएकाले मोहबाट मुक्तिको ज्ञान पाएको र त्यसलाई आफूले क्रियात्मक प्रयोग गरेको बताएका छन्।
यस्तै उनले मानेका अन्य गुरुमा अग्नि, अजिङ्गर, सागर, पुतली, मौरी, हात्ती, भमरो, हरिण, मान्छे, वेश्या, चखेवा, बालक, कुमारी, लोहकार, सर्प, माकुरो र कुमालकोटीबाट जीवनमा ज्यादै महत्वपूर्ण ज्ञान पाएको बताएका छन्। यस उदाहरणबाट ज्ञान जोसुकैबाट लिन सकिने, तर त्यस ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्ने उनको मान्यता छ।
गुरु पूर्णिमा।ब्यास जयन्ती र बेदब्यासको परिचयः-
गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक प्रसिद्ध पर्व हो। हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्।उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ। द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ।
बर्तमानमा गुरुका स्वरुप र आचरणः
आज ज्ञानको बिधाहरु अत्यन्त ब्यापक भएर गएको छ। मानिसले असंख्य बिषयको जानकारी राख्नु पर्ने र त्यसका लागि बिभिन्न ज्ञाता तथा सिल्पिहरुबाट दिक्षित हुनु पर्ने अवस्था छ। बिद्यालय, महाबिद्यालय र बिश्वबिद्यालयमा पढाउने शिक्षक मात्र गुरु नभएर बिभिन्न क्षेत्रका ज्ञान दिने ब्यक्ति पनि गुरु मानिन्छन।सवारी चलाउन सिकाउने चालक- सह चालकका लागि गुरु हो भन्ने संगित शिक्षक वा नृत्य शिक्षक पनि गुरुकै दर्जामा पर्दछन।हिन्दू मान्यता अनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन्।
कस्ता मानिसलाई शिक्षक बनाइनु पर्छ?
यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन्ले भनेका छन्, ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ।’
त्यस्तै पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा, ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन्।’ अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ।
सय वर्षपूर्व अमेरिकामा शिक्षक सङ्घ र समुदायले शिक्षकहरूले पालन गर्नुपर्ने आचारसंहिता पारित गरेका थिए। जसको उद्देश्य शिक्षकहरूमा व्यक्तिगत, सामाजिक र पेसागत गुण तपसील बमोजिम हुनुपर्ने भनी उल्लेख गरिएको थियो।
व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि। सामाजिक गुण पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव- क्रियाशीनेतत्त्व गर्ने क्षमता र समुदायको ज्ञान आदि।
सबभन्दा प्रमुख पेसागत गुण हो। विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि।
नेपालमा शिक्षकहरुको पेशागत आचरणको बिषयः
नेपालको संबिधानले शिक्षा तथा भाषा संस्कृती सम्बन्धी हकको ब्यवस्था गरेको देखिन्छ।शिक्षा नियमावलीले शिक्षकहरुको आचरणको बिषयमा उल्लेख गरेको छ।एउटा असल शिक्षकमा अनुशासन, आज्ञाकारिता, सहयोग, सदाचार, सहानुभूती, धैर्य र सत्चरित्रतालाई प्रोत्साहान दिनु पर्ने,बिद्यार्थीहरुमा राष्ट्रिय भावना जागृत गराउने जस्ता ब्यवस्था गरेको पाइन्छ भने बिद्यार्थीहरुले पनि शिक्षकको आज्ञापालन तथा आदर गर्नु पर्ने,जहाँसुकै अनुशासनमा रहनु पर्ने,राष्ट्रियता,भाषा र संस्कृतिको उत्थानका लागि सबै प्रयत्नशील रहनुपर्ने,सबैसंग शिष्ट ब्यवहार गर्नु पर्ने जस्ता आचारण पालना गर्नु पर्ने ब्यवस्था गरिएको छ।
असल शिक्षक राष्ट्रको गहना हो।जापान लगाएतका देशमा उत्तम बिद्यार्थीको पहिलो रोजाईमा शिक्षण पेश पर्दछ।हामीले पनि शिक्षण पेशालाई आक्रषक,मर्यादीत र बिबादरहित बनाउन जरुरी छ।शिक्षक गुरुहरुले पनि बेदब्यास जस्तै दक्ष र सर्बश्रेष्ट बन्न जरुरी छ।शिक्षक प्राध्यापकलाई पहिलो दर्जाको सम्मान प्राप्त होस।गुरु पूर्णिमाको शुभकामना ।
(बिभिन्न वेभसाइट र पुस्तकहरुको सहयोगमा लेखन तथा संकलन गरिएको हो-लेखक)