नेपालको राजनीतिक इतिहासमा २०७९ सालको स्थानीय तहको निर्वाचनले क्रमभंगता ल्याएको छ । राजनीतिमा जीवन समर्पण गरेका राजनीतिक दलका उम्मेदवार कुनै पनि राजनीतिक आन्दोलनमा भाग नलिएका स्वतन्त्र उम्मेदवारसँग पराजित भए । नयाँ युवाहरु संसदीय मोर्चामा उदय भए । त्यही दौरानमा उदाए बालेन्द्र शाह (बालेन), हर्क साम्प्राड र गोपि हमाल । स्वतन्त्रहरुको उदयले राजनीतिक दलमा ठूलो भुकम्पको धक्का महसुस भयो । यो धक्काले दलहरु हल्लिए पनि जनतामा भने आशाका तरंगहरुको जागरण भयो ।
निर्वाचित भएर आइसकेपछि सत्ता र शक्तिको खेलमा आफूलाई शक्तिशाली राख्न बालेनले कार्यापालिकाको बैठकलाई विभिन्न सामाजिक संजालमा लाइभ हुने व्यवस्था मिलाए ताकी राजनीतिमा खारिएका माहिर खेलाडीहरु बहुमतको दम्भमा आफूलाई घेराबन्दी नगरुन । उनले आफूलाई विजय गराउन सक्रिय भइ लागेको सामाजिक संजालको ताकतलाई अहिले पनि उपयोग गरिरहेका छन् । पछिल्लो समयमा देशको राजधानीको महानगरको मेयरसँग कति शक्ति हुन्छ भन्ने अनुभूत समेत उनले गराएका छन् । यस दौरान उनले नेपालको राजनीतिलाई मात्र होइन, अदालत, संसद र राष्टियतामा समेत नयाँ चुनौति खडा गरेका छन् । भारतले आफ्नो संसदभवनमा नेपालीका भूमी सहित राखेको सांस्कृतिक नक्सा, आदिपुरुष नामक भारतीय चलचित्रमा सीता भारतकी पुत्री हुन भन्ने संवादका सन्दर्भमा नेपालको मौजुदा कानुनलाई नै चुनौति दिएर आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गरेको छन् ।
उनका तर्क र अभिव्यक्तिहरुले कानुनले उनको पदलाई अख्तियार गरेका अधिकारीको उल्लंघन गरेका छन् तर आम जनताको भने अपार समर्थन चुलिएको छ । संसद र अदालतलाई समेत उनले भारतीय गुलाम भन्ने जस्ता अभिव्यक्तिहरु दिएका छन् । उनका अहिलेसम्मको कार्यशैलीले काठमाडौका जनताले भने परिवर्तनको आभाष गरेका छन् ।
एक्लै, एउटा माइक र रिक्सा लिएर चुनावी प्रचार सुरु गरेका धरान उपमहानगरका नगरप्रमुख हर्क साम्पाड पनि सामाजिक संजालकै अधिकतम प्रयोग गरेको धरानमा बिजय हासिल गरे । उनको एउटा मुद्दाले मात्र धरानमा निर्वाचन जित्न सफल भए । काकाकुल झै बनेको धराने जनताको पानीको तीर्खा मेटाउने मात्र आफ्नो श्रम र शक्ति खर्चिने बाचा जनतालाई गरेका थिए । त्यही बाचा पुरा गर्न उनले पिउने पानीका लागि श्रमदानको आवहान गरेर आफूलाई निर्वाचित गर्न लागि परेको शक्तिलाई निरन्तर रुपमा आफूसँग हिडाउन श्रमदानमा लगाए ।
सादगी जीवन सहित जनतासँग कहिल्यै पनि टाढीएनन र अन्तत्वगत्व धरानमा पानी ल्याएर धेरै समयपछि श्रमदानबाट मात्रै सामाजिक कार्यहरु पूरा गर्ने नेपालको पुरानो संस्कारलाई पुनताजगी गरेका छन् । तीखा अभिव्यक्तिका कारण चर्चामा आएका हर्कले प्रधानमन्त्री, मन्त्री र नेपालको शासकीय स्थानमा बसेका सबै मान्छेलाई धरानमा आएर ढुंगा बोकाउने पर्ने अभिव्यक्तिले जनतामाझ आफूलाई स्थापित गराइ राखे । फुर्सदमा उनले आफूले कार्यसम्पादन गर्दा आइपरेका समस्याहरुलाई आफ्नै मौलिक शैलीमा गीत मार्फत अभिव्यक्त गरिरहेका छन् ।
उनले पनि कार्यपालिका बैठकमा आफूलाई राजनीतिक दलका प्रतिनिधिबाट सुरक्षित राख्न सामाजिक संजालको प्रयोग गरिरहेका छन् । निर्वाचति भईसकेपछि पनि आफ्नो कार्यशैलीमा कुनै परिवर्तन भएको छैन । ज्यूकात्यू उनी खरो रुपमा नै धरानको रुपान्तरणमा लागि रहेका छन् ।
बालेन र हर्क जत्तिकै तर चर्चामा नरहेका एकजना नगरप्रमुख बाजुरा जिल्ला पनि छन् । हामीले अरुको मात्र चर्चा परिचर्चा गर्न जानेका छौ । तारिफ गर्न जानेका छौ । हर्कले श्रमदान गरेर पानी ल्याए भन्ने कुराका तारिफ गरिरहदा हाम्रा रामलाईलाई हामीले किन बिर्सेका? किन अवमूल्यन गरेको । बाजुरा जिल्लाको प्रमुख नाका रहेको नगरपालिकाका नगरप्रमुख हुन रामबहादुर बानियाँ ।
अन्धकारमा रहेको साबिकको बाह्रबिस गाबिसलाई जसरी पनि अन्धकारबाट मुक्त गर्नुपर्छ भन्ने उद्देश्यले उनले आफ्नो जीवनको सबभन्दा उर्भव समय इकडीगाडको खोलामा बिताएका थिए । अत्यन्तै जोखिममा रहेको इकडीगाड तेस्रो लघु जलबिद्युत निर्माणका लागि स्रोत खोज्नेदेखि ढुंगा फोड्ने सम्मको काममा उनी दिनरात नभनि पाँच वर्ष समय दिए ।
यसरी निरन्तर समाजका लागि भनि लागि रहँदा न उनी कुनै पदमा थिए न पदको अभिलाषा नै थियो । ०७४ सालको स्थानीय निर्वाचनमा उनी झीनो मतले पराजित भए । काम गरेरै स्थापित भएका उनलाई जनताले पराजित गरेको थिएनन । आफ्नै दलभित्रको गुटिया राजनीतिले उनलाई पराजित गराएको थियो ।
०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन स्थगित गरेर पुन निर्वाचन हुदा पनि उनले आफ्नो सिद्धि सावित गरे । सत्ता, शक्ति र सिंगो बलका बिरुद्ध लडेर उनी निर्वाचित भए । निर्वाचित भइसकेपछि पनि उनको सक्रियता र सादगीमा कुनै कम आएको छैन । देशमा आर्थिक संकटका कारण सबै पालिकाहरुमा संघीय अनुदान घटेको बेला उनले आफ्नो नगरपालिकामा छ करोड संघीय अनुदान बढाएका छन् । बिडम्बना के हो भने हामीले हामीभित्रका राम्रा मान्छेहरुलाई कहिल्यै मुल्यांकन, प्रोत्साहन गरेनौ । हामीलाई कनिष्ट नै मान्यौ । हामीले आफूले आफूलाई नै बुझ्न मुल्यांकन गर्न आफ्नो क्षमता पहिचान गर्न नै सकिरहेका छैनौ ।
हाम्रा लागि अरुले नै बोलिदिनु पर्ने, अरुले नै मुल्यांकन गरिदिनु पर्ने यो बाध्यता हो वा हाम्रो निरिहता अहिलेसम्म बुझ्न सकेको छैन । यो कस्तो समाज हो जहाँ जीवनको पाँचपाँच वर्ष श्रमदानमा खर्चिएको एउटा पात्र गुमनाम छ तर एक वर्ष खटिएको पुर्वको कोही पात्र चर्चामा छ । इतिहास साक्षी छ नेपालको पहिलो सहिद बाकावीर थिए तर हाम्रो पहिलो सहिद बाकावीर हुन भनिदिने मान्छे कोही नभएका कारण शक्तिशालीहरु हामीलाई पढाइ दिए की नेपालको पहिलो सहिद लखन थापा हुन ।
इतिहासमा भएका भूलहरुलाई वर्तमान पनि सच्याउन नसक्ने हो भने हामी चिरकालसम्मका लागि परतन्त्री भएर मात्र बाच्न बाध्य हुनेछौ । यो आलेख तयार गरिरहँदा लक्ष्मीप्रसाद देवकोटाको निबन्ध के नेपाल सानो छ का यी हरफ सम्झिरहेको छु कति सेक्सपियरहरु हलो जोत्ता हुन् । कठैदैन हाम्रो अवस्था । मलाई थाहा छ यो याथर्थ हाम्रै समाजलाई स्वीकार्य छैन । यो आलेखमा प्रोत्साहन भन्दा धेरै खण्डन प्राप्त हुनेछन् ।