बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • हवाइ सेवा नियमित नहुँदा बाजुरामा २ जनाको ज्यान गयो, अन्य बिरामी अलपत्र

हवाइ सेवा नियमित नहुँदा बाजुरामा २ जनाको ज्यान गयो, अन्य बिरामी अलपत्र

  • आइतवार, जेष्ठ ७, २०८०
हवाइ सेवा नियमित नहुँदा बाजुरामा २ जनाको ज्यान गयो, अन्य बिरामी अलपत्र
बाजुरा–बाजुरामा हवाइ सेवा नियमित नहुँदा तिन दिनमा २ जनाको मृत्यु भएको छ । अन्य बिरामी अलपत्र परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले ३ दिनको अवधीमा रिफर गरेका २ जना विरामीको ज्यान गएको छ । थप उपचारका लागि रिफर गरिएका चार जना मध्ये २ जनाको बीच बाटोमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्रले वताएको छ ।
 मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका १ की ऐना गिरी रहेकी छन् । स्वास्थ्य केन्द्रले रिफर गरेको थियो, कोल्टिमा जहाज नआउने भएपछि गाडिबाट सुबिधा सम्पन्न ठाउँमा लिन खोज्दा बिरामीको मृत्यु भएको हो ।
कोल्टी विमान स्थलमा पाँच दिन देखि हवाइ उडान नै भएको छैन् । विरामीले जहाज पर्खी बसेपनि उनीहरुका लागि काल पहिला आउने र विमान पछि हुने अवस्था रहेको स्थानीय जनक कुमार विष्टले बताएका छन् । हप्तादिन देखि हिमाली गाउँपालिका ७ का देवी दत्त जोशी र जगन्नाथ गाउँपालिका १ का लालबहादुर रोकाया जहाज कुरि बसेका छन् ।
मृत्यु भएका २६ वर्षका बोहरा विद्युतको तारलाई विस्तार गर्ने बेला पोल ढलेपछि घाइते भएका थिए । बोहरालाई धनगढी रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर चेतबहादुर धामीले बताएका छन् । बोहराको रिफर गरिएको ६ घण्टा नबित्दै मृत्यु भएको थियो थप उपचारका लागि धनगढी लग्दै गर्दा डोटीको चौखुट्टेमा मृत्यु भएको आफन्तले बताएका छन् ।
कोल्टीबाट धनगढीको पैदल यात्रा करिब १६ घण्टा बढी लाग्ने गरेको छ । हवाइ सेवाको विकल्प नभएपनि बोहरालाई आफन्तले जीप रिजर्ब गरि पैदल यात्राबाट उपचारका लागि लएका थिए ।
त्यसैको ठिक एक दिन पछि रिफर गरिएकै विरामी ऐना गिरीको पनि बीच बाटोमै ज्यान गएको छ । मस्तिष्क घातको समस्या देखिएपछि रिफर गरिएको थियो । उपचार संभव नहुने देखेर रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ ।
५५ वर्षकी गिरीको पनि डोटीकै साजघाटमा मृत्यु भएको आफन्तले बताएका छन् । रिफर गरिएका ४ जना मध्ये पैदल मार्गबाट गएका दुबै जनाको मृत्यु भइसकेको छ । बाँकी २ जना जहाजको पर्खाइ गरिरहेका छन् । तर कोल्टी विमान स्थलमा पाँच दिन देखि हवाइ उडान नै भएको छैन् ।
६५ वर्षका जोशी पिसाब बन्द भएर सिकिस्त छन् । भने ४५ वर्षका रोकायाको मृगौलामा खराबी र सुगरको समस्या देखिएको डाक्टर चेतबहादुर धामीले बताएका छन् । दुबै जनालाई जतिसक्यो चाँडो सुविधा सम्पन्न अस्पतालमा जान चिकित्सकले सुझाव दिएका छन् । तर उनीहरु जहाज कुरि बसेका छन् ।
नियमित हवाइ सेवा नहुँदाको कारण नै दुर्गमका विरामीको अकालमै ज्यान जाने गरेको छ । केही महिना अघि मात्र बुढीनन्दा १० का निवर्तमान वडा अध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो । हृदयघातका विरामी बोहरालाई कोल्टीमा जहाज कुर्दा काल पहिला आएको थियो ।
सिजनमा हवाइ कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन्।  पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका विरामीले अकालमै ज्यान गुमाउनु परेको स्थानीय जनक कुमार विष्टको आक्रोश छ ।  कोल्टिमा सातै दिनको उठान तालिका रहेको छ । सिता एयर विहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ ।
बुधबार यता कुनै कम्पनीले पनि उडान नभरेको विमान स्थल प्रमुख श्रीकृष्ण रिजालले बताएका छन् । बाजुरादेखि नेपालगञ्जसम्मको हवाइ उडान समय ३० देखि ३५ मिनेटको हुने गरेको छ ।
नियमित उडान नभरेपनि आकस्मीक अवतरण गर्न अनुरोध गर्दा पनि नमानेको आफन्तको आक्रोश छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बाजुराका चार पालिका र छिमेकी हुम्ला, मुगु र कालिकोट जिल्लाका विरामी उपचारका लागि आउने गरेका छन् । कर्णाली करिडोर पनि भरपर्दो नभएको र मार्तडी कोल्टी, मार्तडी धनगढी सडकको दुरी निकै लामो हुने हुँदा विरामीका लागि ठूलै सास्ती हुदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार