शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • झापामा ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप, दुई प्रहरी घाइते

झापामा ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप, दुई प्रहरी घाइते

  • बुधबार, बैशाख १३, २०८०
झापामा ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप, दुई प्रहरी घाइते

झापा– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको थियो । त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको रेग्मीले बताए ।

प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् ।

घटनामा सत्ता पक्षको घुसपैठ भएको भन्दै नेकपा एमालेले संसद् बैठकमा समेत आपत्ति जनाएको छ । ‘हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमाले नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुंगामुढा गर्ने कोशिश गरिन्छ, कार्यक्रम भाँड्न र अशान्ति पैदा गर्न खोजिन्छ, त्यसमा सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको छ’, एमाले सचेतक पदम गिरीले भने ।

प्रहरीले घटनास्थलबाट मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ । ओली केहीबेरअघि झापाको कार्यक्रम सकेर इलाम पुगेका छन् ।

चर्चामा

सम्बन्धित समाचार