शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ६
  • शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे किताब

शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे किताब

  • शनिबार, बैशाख २, २०८०
शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे किताब

जुम्ला– हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा किताब (पाठ्यपुस्तक) पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै किताब पुग्ने भएका हुन् ।

आवश्यक किताब जिल्लामा आइपुगेको जुम्लामा रहेकाे सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । कक्षा १ देखि १० सम्मका झन्डै सात सय थान किताब आइसकेका छन् । जिल्लाको हिमा र तातोपानी गाउँपालिकाको मागअनुसार किताब पुगेको उहाँको भनाइ थियो ।

यही वैशाख ३ गतेदेखि हिमा गाउँपालिकामा किताब पुग्ने भएको छ । तातोपानी गाउँपालिकाले पनि किताब माग गरेको छ । अरू पालिकाबाट पनि माग आउन थालेको र थप किताब पनि आउने काम भइरहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । अहिले छ हजार एक सय थान किताब जिल्लामा पुगेको जिपी स्टेशनरीका सञ्चालक गणेश रोकायाले बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्ष्य गरेर किताब आएको छ ।

विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि किताब आइपुग्दैनथ्यो । यो वर्ष समयमै किताब आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै किताब छापेकाले चाँडै ल्याउन सकिएको यहाँका स्टेशनरी सञ्चालकले बताए । स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीले आउँदाे शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई किताब बिक्री गर्न थालिसकेका छन् । जिल्लामा एक सय ८४ सामुदायिक विद्यालयमा झन्डै ४० हजार हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको शिक्षा समन्वय इकाइले जनाएको छ । हिमाली जिल्लाहरूमा फागुनदेखि विद्यालय सञ्चालनमा आएपछि किताब नपुग्दा विद्यार्थीहरूको पढाइमै असर परेको थियो । मतपत्र समयमै पुग्ने तर विद्यार्थीका लागि किताब नपुग्नुको कारणबारे जिल्लाका सांसदले सांसदमै आवाजसमेत उठाएका थिए । पालिकाबाट किताब पुग–अपुग भएको सन्दर्भमा केही जानकारी नआएको यहाँका सामुदायिक विद्यालयले जनाएका छन् ।

जुम्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै जुम्लामा पनि त्यहीअनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो । विसं २०७९ माघ ६ गतेको मन्त्रिस्तरीय निर्णयबाट सबै जिल्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु गर्ने सरकारको तयारी छ तर अघिल्ला वर्षमा हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । हिमाली जिल्लाले पुस १० देखि माघ २५ गतेसम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार