जनकपुरधाम – सप्तरीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी एन्जिला बस्नेत छिन् । मृतक बालिकाका बुवा मोटरसाइकल चालक ध्रुव गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा आइतबार दिउँसो बा ३ च ५२९३ नम्बरको कार र को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठोक्किएका थिए ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार बाबु-छोरी सवार मोटरसाइकल कारमा ठोक्किएपछि ना६ख ९८५२ नम्बरको ट्रकमा पनि ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ध्रुव र एन्जिलालाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । उपचारको क्रममा दिउँसो तीन बजे एन्जिलालाई डाक्टरले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी सिंहले जानकारी दिए । उनका बुवा ध्रुवको भने उपचार जारी छ ।
कार, कार चालक, ट्रक र ट्रक चालकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल सप्तरीले जनाएको छ ।