शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङका दुई पालिकामा एउटै व्यक्ति प्रशासकीय अधिकृत

बझाङका दुई पालिकामा एउटै व्यक्ति प्रशासकीय अधिकृत

  • शुक्रबार, चैत्र १७, २०७९
बझाङका दुई पालिकामा एउटै व्यक्ति प्रशासकीय अधिकृत

बझाङ    –      बझाङमा दुईवटा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकै व्यक्तिलाई दिइएको छ। जिल्लाको बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पदमराज उपाध्यायलाई दिइएको हो। बुङ्गल र केदारस्युँको दोहोरो जिम्मेवारी पाएका उपाध्याय हप्तामा ३ दिन बुङ्गल नगरपालिकामा बसेर काम गर्दै आएका छन् भने बाँकी तीन दिन केदारस्युँमा बसेर काम गर्दै आएका छन्।

कर्मचारी नपाएर उपाध्यायलाई दोहोरो जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयबाट दिइएको बुङ्गल नगरपालिकाका उपप्रमुख जयबहादुर धामीले बताए। ‘हाम्रो पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले केदारस्युँबाट ३ दिन काम गर्ने हिसावले पदमराज उपाध्याय आउनुहुन्छ,’ उनले भने, ‘बुङ्गल दुर्गम भएर पनि कर्मचारी आउन मान्दैनन्।’

बुङ्गल नगरपालिकामा अघिल्लो पाँच वर्षको बेरुजु रकम निकै धेरै रहेकाले पनि दबाबमा काम गर्न लगाउने भएकाले पनि सरूवा भएर कर्मचारी आउन नमान्ने स्थानीयको गुनासो छ। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय सरकारको कामकारबाही प्रभावित हुने गरेको छ।

नगरपालिकामा नगरप्रमुख जयबहादुर धामी र उपप्रमुख धनबहादुर बोहराबीच द्वन्दका कारण पनि कर्मचारी आउन नमान्ने गरेको स्थानीय बताउँछन्। तर, उपप्रमुख बोहराले भने प्रमुख र उपप्रमुखबीच केही कुरामा फरक मत भए पनि द्वन्द नभएको दाबी गरे। ङ्गल नगरपालिकामा २०७४ मा नेपाली काँग्रेसबाट धनबहादुर बिष्ट नगरप्रमुख निर्वाचित भएका थिए। उनको पाँच वर्षे कार्यकालमा ठुलो रकम बेरुजु देखिएको छ।

राजनीति दलका स्थानीय नेताहरूले जबरजस्ती निर्णय गराउने भएकाले बेरुजु रकम बढी देखिएको एक जना पूर्व कर्मचारीले बताए। बेरुजु बढी देखिने र नियम विपरीत काम गर्नुपर्ने दबाब झेल्नुपर्ने भएकाले नगरपालिकामा सरुवा भएर कर्मचारी आउन नमान्ने स्थानीय बताउँछन्।

गत वर्ष बैशाखमा भएको निर्वाचनपछि नगरपालिकाले कर्मचारी पाउने र विकास निर्माण र जनताका काम सहजै हुने अनुमान गरिए पनि प्रमुख र उपप्रमुख बीचको द्वन्द्वका कारण यो पटक पनि बुङ्गल नगरपालिकामा कर्मचारी आउन मान्दैनन्। फागुनको दोस्रो साता सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिमका १० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाए पनि बुङ्गलमा भने पठाएको थिएन। प्रमुखले ल्याउन चाहेको कर्मचारीलाई उपप्रमुख र उपप्रनुखले ल्याउन चाहेको कर्मचारीलाई प्रमुखले आउन नदिने वातावरण बनाउने गरेको कर्मचारी स्रोतले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार