बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा ठूलो भूकम्पको जोखिम, ६ महिनामा १० पटक भूकम्प

सुदूरपश्चिममा ठूलो भूकम्पको जोखिम, ६ महिनामा १० पटक भूकम्प

  • मङ्लबार, चैत्र १४, २०७९
सुदूरपश्चिममा ठूलो भूकम्पको जोखिम, ६ महिनामा १० पटक भूकम्प

सुदूरपश्चिम प्रदेशमा ६ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १० वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ। कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास केन्द्रविन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए।

शर्माका अनुसार देशभरका अनुपातमा सुदूरपश्चिममा धेरै भूकम्प गइरहेको हो। यसकारण पनि सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको उनले बताए। आइतबार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको स्वामिकार्तिक गाउँपालिका साप्पाटा आसपास केन्द्रविन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ।

देशका पश्चिमी भागमा गएका १४ भूकम्पमध्ये सबैभन्दा बढी बाजुरामा पाँचपटक भूकम्प गएको छ। कात्तिक २२ गते डोटी केन्द्रविन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो। विभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरू चर्किनुका साथै बस्न अयोग्य भएका छन्। भूकम्प प्रभावितहरू कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य छन्।

१४ वटा भूकम्पमध्ये १० सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन्। चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्रले जनाएको छ। कार्तिक महिनामा डोटी जिल्लामा स्थानीय म्याग्निट्यूड ६ दशमलव ६ को शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प जमिनको सतहभन्दा २७ दशमलव ३ किलोमिटर तल उत्पत्ति भएको हो।

गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६ दशमलव ६ को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भयो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले डोटीमा भूकम्प गएपछि धेरै परकम्पहरू मापन गरिएको बताएकी थिइन्। तर उनका अनुसार बाजुराको भूकम्प ‘परकम्प नभई छुट्टै भूकम्प’ थियो।

पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्। तर डोटी र बाजुरामा गएका भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ। झाका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो।

चर्चामा

सम्बन्धित समाचार