• होमपेज
  • राजनीति
  • तनहुँ– १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने

तनहुँ– १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने

  • आइतवार, चैत्र १२, २०७९
तनहुँ– १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने

काठमाडौं  –     रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली रहेको तनहुँ क्षेत्र- १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भैसकेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई यसअघि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका थिए ।

२०४८ सालदेखि लगातार पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै आएका उनी लगातार तीन पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन् ।

रामचन्द्र पौडेलले गत चुनावअघि आफू राष्ट्रपति भएमा भट्टराईलाई उम्मेदवार बनाउने आश्वासन दिएका थिए ।

स्रोतका अनुसार भट्टराई तनहुँ–१ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ ।

तनहुँ १ बाट गत चुनाव जितेका पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

त्यसैगरी चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चका फैसलाले खारेज भएका उपचुनाव हुन लागेको हो ।

त्यस्तै उपराष्ट्रपति निर्वाचित राम सहायक प्रसाद यादवको निर्वाचन क्षेत्र बारा–२ मा पनि वैशाख १० गते नै उपचुनाव हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार