शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका पाँच जिल्लाको जनसंख्या घट्यो, यस्तो छ जिल्लागत नतिजा

सुदूरपश्चिमका पाँच जिल्लाको जनसंख्या घट्यो, यस्तो छ जिल्लागत नतिजा

  • शनिबार, चैत्र ११, २०७९
सुदूरपश्चिमका पाँच जिल्लाको जनसंख्या घट्यो, यस्तो छ जिल्लागत नतिजा

सुदूरपश्चिम प्रदेशका नौमध्ये पाँच जिल्लामा पछिल्लो १० वर्षको अवधिमा जनसंख्या घटेको छ। १० वर्षको अवधिमा प्रदेशका पाँच जिल्लामा वार्षिक एक दशमलव १३ प्रतिशतदेखि शून्य दशमलव १७ प्रतिशतले जनसंख्या घटेको हो।
पहाडी पाँच जिल्लाको जनसंख्या घटे पनि बाजुरा र दार्चुलाको जनसंख्या भने बढेको छ। बाजुरामा शून्य दशमलव २५ प्रतिशत र दार्चुलामा २६ प्रतिशतले जनसंख्या बढेको छ। २०६८ को तुलनामा २०७८ को जनगणनामा कैलाली र कञ्चनपुरमा क्रमशः १ दशमलव ४८ र १ दशमलव २५ ले जनसंख्या बढेको छ। राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार प्रदेशका पहाडी जिल्लाहरू अछाम, बझाङ, डोटी, बैतडी र डडेल्धुरामा जनसंख्या वृद्धिदरमा ह्रास आएको छ।
जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक रहेको अछाममा यो दर एक दशमलव १३ प्रतिशत छ। अछाममा २०६८ सालको जनगणनाअनुसार दुई लाख ५७ हजार ४७७ जनसंख्या रहेकोमा २०७८ सम्म आइपुग्दा २८ हजार ६ सय २५ ले कमी आएर दुई लाख २८ हजार ८ सय ५२ मा झरेको छ। त्यस्तै, बझाङमा जनसंख्याको वार्षिक वृद्धिदर शून्य दशमलव ३ ले ऋणात्मक छ भने डोटीमा शून्य दशमलव ३२, बैतडीमा शून्य दशमलव ३४ र डडेल्धुरामा शून्य दशमलव १७ प्रतिशत जनसंख्या वृद्धिदर ऋणात्मक छ।
बझाङमा २०६८ को जनगणनाअनुसार एक लाख ९५ हजार एक सय ५९ जनसंख्या रहेको थियो भने २०७८ को जनगणना नतिजामा जनसंख्या वृद्धिदर घटेर एक लाख ८९ हजार ८५ मा झरेको छ। त्यस्तै, डोटीमा २०६८ मा दुई लाख ११ हजार सात सय ४६ जनसंख्या रहेकोमा २०७८ सम्म आइपुग्दा दुई लाख चार हजार आठ सय ३१ मा झरेको छ। बैतडीमा २०६८ को जनगणनाअनुसार दुई लाख ५० हजार ८ सय ९८ जनसंख्या रहेको थियो।
२०७८ को जनगणना नतिजाअनुसार बैतडीको जनसंख्या घटेर दुई लाख ४२ हजार एक सय ५७ मा झरेको छ। डडेल्धुरामा पनि दुई हजार चार सय ९२ ले जनसंख्या घटेको छ। डडेल्धुरामा २०६८ मा एक लाख ४२ हजार ९४ जनसंख्या रहेकोमा २०७८ मा घटेर एक लाख ३९ हजार ६ सय दुईमा झरेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसाईसराइको तीव्र चाप रहेको राष्ट्रिय जनगणना, २०७८ को नतिजाले पनि पुष्टि गरेको छ।

कैलालीमा वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव ४८ पुगेको छ। कैलालीको जनसंख्या ९ लाख ४ हजार ६ सय ६६ पुगेको छ। त्यस्तै, कञ्चनपुरको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव २५ छ। २०७८ को जनगणनाअनुसार कञ्चनपुरको जनसंख्या ५ लाख १३ हजार ७ सय ५७ पुगेको छ। प्रदेशको हिमाली जिल्ला भए पनि बाजुरा र दार्चुलामा भने २०७८ को जनगणनामा जनसंख्या वृद्धिदर घनात्मक देखिएको छ।

बाजुरामा वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव २५ तथा दार्चुलामा शून्य प्रतिशत घनात्मक छ। बाजुराको जनसंख्या १ लाख ३८ हजार ५ सय २३ र दार्चुलाको जनसंख्या १ लाख ३३ हजार ३ सय १० पुगेको छ। समग्रमा सुदूरपश्चिमको जनसंख्या २०६८ देखि २०७८ सम्मको अवधिमा पाँच दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ।

केन्द्रीय तथ्यांक विभागद्वारा सार्वजनिक गरिएको राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार प्रदेशको कुल जनसंख्या २६ लाख ९४ हजार ७ सय ८३ पुगेको छ। २०६८ सालको जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार थियो। पछिल्लो नतिजाअनुसार कुल जनसंख्याका दृष्टिले सुदूरपश्चिम पाँचौँ स्थानमा छ।

चर्चामा

सम्बन्धित समाचार