दाङ – रोल्पाकी एकजना १३ वर्षीया बालिकाको पेट अस्वाभाविक रूपमा बढ्न थालेपछि विद्यालयका शिक्षक–शिक्षिका आश्चर्यमा परे । तैपनि बालिका विद्यालय आउन छोडिनन् । एकदिन बालिका चक्कर लागेर स्कुलकै चौरमा ढलिन् । अस्पताल पुर्याएपछि थाहा भयो, ती बालिका ९ महिनाकी गर्भवती रहिछन् ।
पेटमा बसेको गर्भबारे सोधपुछ गर्दा बालिकाले आफू काकाबाट बलात्कृत भएको कहालीलाग्दो घटना सुनाइन् । एक महिनापछि बालिकाले बच्चा जन्माइन् । त्यसपछि पीडित परिवारले बालिकामाथि करणी गर्ने काका विरुद्ध २०७७ साल साउन, प्रहरीमा जाहेरी दिए ।
प्रहरीले अनुसन्धानपछि मुद्दा चलायो । जिल्ला अदालत रोल्पाले २०७७ सालमै पीडक काकालाई २० वर्ष कैद हुने फैसला गर्यो । आफूमाथि अन्याय गर्ने काकालाई जेल सजाय भएपछि बालिकाले कानुनी रूपमा मुद्दा जितिन् । काका जेल परे ।
तर, छरछिमेकी र आफन्तहरूले यसलाई राम्रो मानेनन् । ‘काकालाई जेल हालेको’ भन्दै छरछिमेक र आफन्तले उल्टै उनीमाथि लाञ्छना लगाए । यसमा गाउँले पनि मिसिए ।
बिरामी बालिका समाजको लाञ्छनाले थप विक्षिप्त भइन् । उनको पक्षमा बोलिदिने कोही भएन । बालिकाले गाउँ नै छोड्नु पर्यो । अहिलेसम्म पनि उनी घर फर्कन सकेकी छैनन् । दुई वर्षयता उनी फुपूकोमा बसेकी छन् ।
अर्को यस्तै एउटा घटना छ, रोल्पाको । आमाको मृत्युपछि बावुले १८ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरे । यो क्रम लामै समयसम्म चल्यो । बावुले गर्भनिरोधक चक्की खुवाएर पनि करणी गरिरहे । यसैबीचमा बालिका गर्भवती भइन् । उनको पेटको गर्भ ८ महिनाको भएपछि घटना बाहिर आयो ।
२०७८ माघमा बालिकाले बावुविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिन् । प्रहरीले अनुसन्धान पछि अदालतमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालत, रोल्पाले पीडक बावुलाई २४ वर्ष कैद फैसला गर्यो । बावु जेल परे ।
पीडित बालिकाले बच्चा पनि जन्माइन् । यसपछि बालिकालाई झन् ठूलो समस्या आइपर्यो । घटनापछि पीडित किशोरी गाउँ बस्न सक्ने स्थिति रहेन । आफन्त र छरछिमेकले घृणा गर्न थाले । उनी र उनको बच्चा माथि तथानाम बचन लगाउने काम हुन थाल्यो । केही दिन सहेर बसे पनि ‘बावुलाई जेल हालेर घर बसेकी’ भनेर उनीमाथि समाज नै खनिन थाल्यो ।
‘बावुलाई जेल पठाई भनेर गाउँमा आफन्तले गाली गरे’ पीडित किशोरीले अनलाइनखबरसँग भनिन्, ‘सबैले मेरो नै दोष देखाए । अनि म गाउँमा बस्नै सकिनँ ।’ यसरी किशोरीले गाउँ नछोडी सुखै पाइनन् । दुई वर्षयता उनी जिल्ला सदरमुकाम लिवाङमा होटलमा भाँडा माझ्ने काम गरेर जिन्दगी चलाइरहेकी छिन् । उनी भन्छिन्, ‘बावुले मेरो जिन्दगी नै बर्बाद बनाए । मेरो कुनै दोष नहुँदा पनि मैले सजाय भोग्नु पर्यो ।’
अर्को उदाहरण छ, दाङ जिल्लाको । ५ भदौ २०७४ मा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय घोराहीमा पीडित पक्षबाट जाहेरी पर्यो । छिमेकी २३ वर्षीय युवकमाथि आशंका गरेर परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा चलायो । २ जेठ २०७५ मा जिल्ला अदालतले आरोपित युवकलाई दोषी ठहर गर्दै जबर्जस्ती करणीको कसुरमा १२ वर्ष जेल सजायसहित २५ हजार क्षतिपूर्ति भराउने फैसला गर्यो ।
ती किशोर जेल चलान भए । तर दोषी जेल चलान हुँदैमा पीडित परिवारले न्यायको अनुभूति गर्न पाएन । उनीहरूमाथि पीडक पक्षले दिनरात मानसिक यातना दिन थाल्यो । हुँदाहुँदा केही मानिस घरमै आएर पीडितका बावुमाथि कुटपिट गरे । पीडित बालिकालाई मार्ने भन्दै आउन थाले । ज्यान मार्ने धम्की दिइरहँदा पनि उनीहरूलाई कुनै कारबाही भएन । यसपछि पीडितको परिवार नै गाउँ छोडेर हिंडे ।
रुकुमको अर्को एउटा घटना पनि यस्तै छ । २० वर्षीया युवती नाता पर्नेबाटै बलात्कृत भएकी थिइन् । उनले २०७९ असोजमा जिल्ला प्रहरी कार्यालय, रुकुममा जाहेरी दिइन् । प्रहरीले तत्काल आरोपित युवकलाई पक्राउ गरी मुद्दा चलायो ।
तर, त्यसपछि पीडित परिवारलाई झन् संकट आइपर्यो । पीडक पक्षले ती युवती र उनको परिवारलाई बारम्बार धम्क्याउन थाले । विस्तारै छरछिमेकमा युवतीकै चरित्रमा दोष लगाउँदै युवकलाई फसाएको भनेर चर्चा हुनथाल्यो । हुँदा–हुँदा पीडक परिवार र गाउँले मिलेर उनलाई गाली गर्न थाले, उनी घरमा बस्न नसक्ने अवस्थामा पुगिन् । केही दिन गैरसरकारी संस्था ओरेक नेपालको सेफ हाउसमा राखेर उनलाई काठमाडौंको पुनर्स्थापना केन्द्रमा पठाइयो । त्यसयता ती युवती गाउँ फर्कन सकेकी छैनन् ।
समाजमा हत्तपत्त बाहिर नआउने बलात्कारका घटनामा उजुरी परेर कानुनी रूपमा मुद्दा जित्नु चानचुने चुनौती होइन । तर यहाँ त यति लामो प्रक्रियामा जुधेर न्याय पाउने अवस्था निर्माण हुँदा पनि पीडितलाई सजिलो छैन । उल्टो आपत् आइलाग्छ भन्न माथिका दृष्टान्त काफी छन् ।
बलात्कार तथा महिला हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था ओरेक नेपाल दाङको विवरणले भन्छ— ‘बलात्कार घटनाका पीडितहरूलाई परिवार र समाजमा पुनर्स्थापित हुन सजिलो छैन ।’ संस्थाकी कार्यक्रम अधिकृत पूजा चौधरीको विश्लेषणमा सबभन्दा पहिले परिवार र समाजले महिला माथि शंका गर्छ । यसो हुनुमा कहीं न कहीं महिलाको पनि भूमिका हुनसक्छ भन्ने यो शंकालु भावनाको शिकार पीडितहरू हुन्छन् ।
चौधरी भन्छिन्, ‘बलात्कारका घटनापछि विस्तारै समाज र परिवारले नै पीडितलाई छिःछि र दुर्दुर् गर्न थाल्छ । अदालतमा परेको मुद्दाको फैसला आउँदासम्ममा पीडित घर र समाजमा बस्न नसक्ने अवस्थामा पुगिसकेको हुन्छ ।’
बलात्कार घटनामा पीडित नै विस्थापित भएको अर्काे घटना पनि छ । २०७८ सालमा दाङ घोराहीकी २२ वर्षकी युवती सामूहिक बलात्कारमा परिन् । उनीमाथि बलात्कार गर्ने गाउँकै दुई जना चिनेजानेका युवक थिए । पीडित युवतीले घटना लगत्तै प्रहरीमा उजुरी दिइन् ।
तर यसरी उजुरी गर्नु पीडित परिवारका लागि महँगो सावित भयो । अदालतमा मुद्दा दर्ता गरेपछि ज्याला मजदुरी गर्ने पीडित परिवारलाई पीडकले दिनरात धम्क्याउन थाले । मानसिक यातना यति बढ्यो कि पीडित परिवारले सहनै सकेनन् । दुई महिना अघिको कुरा हो– पीडितको परिवार नै गाउँ छोडेर भारत पसे ।
बलात्कारका घटनामा कतिसम्मको अवस्था छ भने पीडितले आफ्नै परिवारभित्रबाट समेत सहयोग पाउँदैनन् । उल्टो पीडितलाई नै घरकै ढोका बन्द हुन्छ । दाङ बंगलाचुलीको यस्तै एउटा घटना छ ।
यो परिवारमा बावु बितेपछि आमाले अर्काे बिहे गरिन् । सुरुमा माया गरे जस्तो गर्ने झट्केला बावुले आमा नभएको मौकामा १३ वर्षीया उनीमाथि जबरजस्ती करणी गर्थे । एक वर्षदेखि बावुले आफूमाथि लगातार बलात्कार गर्न थालेपछि पीडित बालिकाले हजुरआमाको सहयोगमा १५ माघ २०७३ मा प्रहरीमा जाहेरी दिइन् । प्रहरीले आरोपित बावुलाई पक्राउ गरी मुद्दा चलायो । र, जिल्ला अदालतले दोषी ठहर गर्दै १८ वर्ष कैद र पीडितलाई ४० हजार क्षतिपूर्ति भराउने फैसला गर्यो ।
तर त्यसपछि बालिकालाई घरको ढोका सधैंका लागि बन्द भयो । बालिकाकी आमाले नै बावुलाई जेल हालेको भनेर घरमा पस्न दिइनन् । घरमा बस्न नपाएपछि पीडित बालिका घोराहीमा सानीआमाको घरमा आएर बस्न थालिन् ।
‘तैंले बाउलाई जेल पठाइस् भनेर आमाले घरमा छिर्न दिनुभएन’ पीडित बालिकाले अनलाइनखबरसँग भनिन्, ‘गाउँमा पनि सबैले त्यसै भनेर गाली गरे । अब म कहाँ जाउँ ?’
कुनै बेला द्वन्द्वको केन्द्रमा रहेको रुकुम, रोल्पा र दाङ जिल्लाका यी घटना विवरणले त्यहाँको पारिवारिक र सामाजिक न्याय व्यवस्था झल्काउँछ । बालिका, किशोरी माथि जधन्य अपराध भएकोमा अदालतसम्म पुग्नै मुश्किल छ भने अदालत पुगेर मुद्दा जितेका घटनामा पनि परिवार र समाजका कारण पीडितले न्याय पाउन सम्भव हुन्न । उल्टो उनीहरूले नै घर छाडेर हिंड्नुपर्छ ।
तर, बलात्कार घटनालाई महिलाको भविष्य र इज्जतसँग जोडेर हेर्नै नहुने बताउँछिन्, महिला अधिकारकर्मी रचना सुवेदी । ‘बलात्कार वा यौन दुव्र्यवहार हुनुमा महिलाको दोष हुँदैन’ उनले भनिन्, ‘यस्ता घटनामा महिलाहरू शिकार भए, उनीहरूलाई हेला गर्नुहुँदैन । बरु माया, साथ र हौसला दिनुपर्छ ।’
उनी समाजमा हुने बलात्कारका घटनामा पीडितलाई न्यायका लागि परिवार र गाउँ समाजले नै सघाउनुपर्ने बताउँछिन् । ‘यसो हुँदा पीडितले थप यस्ता घटनाविरुद्ध लड्ने आँट पाउँछन्’ उनले भनिन्, ‘हरेक समाजमा यही थिति बसाल्न सके पीडितले न्याय पाएको अनुभूति पाउँछन् ।’
‘दोषी जेल जाँदैमा न्याय हुँदैन’
बलात्कारका घटनामा दोषी जेल जाँदैमा पीडितलाई न्याय भयो भन्न नमिल्ने अधिकारकर्मीहरू बताउँछन् । ‘दोषी जेल जाँदैमा पीडितले न्याय पाउँछन् भन्ने हुँदैन’ महिला अधिकारकर्मी रक्षकहरूको राष्ट्रिय सञ्जाल रोल्पाकी अध्यक्ष तीर्था आचार्य भन्छिन्, ‘कानुनी न्याय जिते पनि पीडितले समाज र परिवारसँग फेरि अर्काे न्यायको लडाईं लड्नुपर्छ ।’ यस्ता घटनामा कानुनले फैसला गरे पनि परिवार र समाजले नै त्यो फैसलालाई पीडितको पक्षमा कार्यान्वयनमा आउन दिंदैन ।’
आचार्य भन्छिन्, ‘अब पीडितलाई परिवार र समाजमा सम्मानपूर्वक पुनर्स्थापना गर्ने र फैसला बमोजिम न्याय प्रदान गर्ने जिम्मेवारी पनि राज्यले नलिने हो भने अदालती फैसलाको अर्थ रहन्न ।’
मुख्यतः पितृसत्तात्मक सोचका कारण नेपाली समाजमा बलात्कार पीडितका लागि न्याय धेरै टाढा रहेको बताउँछन्; महेन्द्र बहुमुखी क्याम्पस दाङ, समाजशास्त्रका उप–प्राध्यापक निर्मल गौतम । ‘पुरुष प्रधान समाजमा पीडितलाई नै लाञ्छना लगाउने, दोषी देख्ने प्रवृत्ति व्याप्त छ । यसबाट बलात्कार जस्ता जघन्य अपराधलाई प्रश्रय मिल्छ’ उनी भन्छन्, ‘यस्तोमा पीडितले कसरी न्याय पाएको अनुभूति गर्न सक्छन् र ?’
उनी बलात्कार भइसकेपछि कुनै न कुनै रूपमा पीडितलाई दोषी देखाउने प्रवृत्तिले गर्दा अपराधीहरू हौसिने र यसले पीडितलाई आफ्नै गल्ती पो थियो कि भन्ने अवस्थामा पुर्याउने गरेको बताउँछन् । पीडकलाई शंकाको सुविधा दिने सामाजिक संरचना र मान्यताले गर्दा पीडितका लागि न्याय धेरै टाढा रहेको उनको भनाइ छ । उनले यस्ता सामाजिक कुरीतिहरू नबदलेसम्म पीडितले न्याय पाउन मुश्किल हुने बताए ।
बलात्कार पीडितका सवालमा कानुनी प्रणाली र न्यायको परिभाषालाई पनि बदल्नुपर्ने ठान्छन् उनी । ‘हाम्र्रो कानुनी प्रणालीले फैसला भएपछि पीडितलाई न्याय मिल्छ भन्ने मान्यता राख्छ’ गौतमले भने, ‘त्यसैले फैसलापछि पीडितको जीवन निर्वाह र सामाजिक पुनर्स्थापनाबारे न्यायालयको पनि ध्यान पुगेको देखिंदैन ।’
उल्टै सताउँछ सामाजिक संरचनाले
महिला अधिकारकर्मी दीपा धिताल बलात्कार घटनामा पीडितले न्यायका निम्ति पाइलैपिच्छे हैरानी भोग्नुपर्ने सूची सुनाउँछिन् । ‘पहिले त घटनालाई सकेसम्म लुकाउन वा दबाउन खोजिन्छ’ उनले भनिन्, ‘पीडितले परिवार र आफन्तको साथ पाउँदैनन् ।’ त्यही कारण कति पीडित त समाजले लाञ्छना लगाउने डर अनि आफूले पाउने दुःख, हैरानी र सामाजिक बेइज्जती सम्झेर न्यायिक प्रक्रियामै जाँदैनन् ।’
अधिकारकर्मी धितालका भनाइमा, बलात्कृत महिलालाई सामान्यतया कसैले सहयोग गर्दैन । पारिवारिक, सामाजिक परिवेशले बलात्कृत महिलाको संरक्षण नगर्ने हुँदा पीडित न्यायका लागि एक्लै लड्नुपर्ने अवस्था आउँछ । अनि तुलनात्मक रूपमा प्रभावशाली पीडक विरुद्ध उनीहरू बोल्नै सक्दैनन् ।
उनी भन्छिन्, ‘यो अवस्थामा परिवारभित्रकै व्यक्ति पीडक भएपछि यस्तो मामिला घरमै गुपचुप पारिन्छ । कुनै कारणले घर बाहिर निस्केर उजुरी गरिहाले पनि उनीहरू चर्को पीडा खेपेर जीवन बिताउनुपर्छ ।’
यस्तै हाम्रो न्याय प्रणाली पनि पूर्णतः पीडितमैत्री नभएको उनी बताउँछिन् । ‘कानुनी संयन्त्रहरू पीडितलाई थप पीडा दिने खालका छन्’ उनी भन्छिन्, ‘पीडितलाई सोधिने असंवेदनशील प्रश्नहरूले झन् बढी आघात बनाउँछ । कानुनी न्याय लड्दा लड्दै पीडित थाकिसक्छन् ।’
तर यसरी थकित अवस्थामा पुगेर न्याय पाउँदा पनि परिवार र समाजले उल्टै धम्क्याउन थालेपछि उनीहरू निराश र पलायन हुन्छन् । उनले भनिन्, ‘मुद्दा जितिहाले पनि पीडक जेल जाने हो, तर पीडितले केही पाउँदैनन् । अनि परिवार र समाजको पनि साथ नपाउँदा उनीहरू घर छाड्न बाध्य हुन्छन् ।’
अधिवक्ता गोमा महरा पीडितले मुद्दा जित्दैमा न्यायको अभिभारा पूरा नहुने बताउँछिन् । ‘कानुनको उद्देश्य पनि पीडितले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्ने नै हो’ उनी भन्छिन्, ‘तर पीडितमाथि नै लाञ्छना लगाउने हाम्रो सामाजिक संरचनाका कारण मुद्दा जित्नुले मात्रै न्यायको अभिभारा पूरा हुँदैन ।’ लामो समयदेखि बलात्कार सम्बन्धी घटनाका मुद्दा हेरेकी उनी ‘बलात्कार मुद्दाका पीडितले कैयौं तगारा पार गरे पनि वास्तविक न्याय पाउन मुश्किल हुने’ बताउँछिन् ।
बढ्दो बलात्कार, निशानामा बालिका
प्रहरी प्रधान कार्यालयले हरेक वर्ष बलात्कार तथा यौनजन्य घटनाको ग्राफ देखाउँछ । अझ झस्क्याउने कुरा के छ भने, बलात्कार तथा यौन हिंसाका घटनामा बालिकाहरू बढी पीडित छन् । प्रहरीको तथ्यांक हेर्दा पछिल्ला तीन वर्षमा मुलुकभर ७ हजार ११५ बलात्कार तथा यौन हिंसाका घटना भएका छन् । जसमा १६ वर्ष मुनिका धेरै बालिका छन् ।
पछिल्लो तीन वर्षमा ४ हजार ६१८ बालिका बलात्कृत भएका छन् । बलात्कृत हुने बलिकाको संख्या हरेक वर्ष बढ्दो छ । प्रधान प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २ हजार १६७ मध्ये १ हजार ३९३, आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५५४ मध्ये १ हजार ६६५, आर्थिक वर्ष २०७८/७९ मा २ हजार ३९४ मध्ये १ हजार ५६० बालिका बलात्कृत भएका छन् ।
बलात्कार घटनामा प्रहरी विवरणबाट खुलासा हुने अर्को तथ्य के हो भने बालिका र किशोरीहरू घरभित्रै असुरक्षित छन् । उनीहरू घरभित्रकै सदस्य र चिनेजानेकै व्यक्तिबाट बलात्कारको शिकार भएका धेरै घटना छन् । देशभरका यस्ता घटनामध्ये अधिकांश बालिका, किशोरी र महिलाहरू घरभित्र, आफन्त र छिमेकीबाट पीडित छन् ।
‘अधिकांश पीडित घरभित्रकै बुवा, दाजु, भाइ, काका र छिमेकीबाट बलात्कारको शिकार भएका छन्’ नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेल भन्छन्, ‘बालिकाहरूको हकमा उनीहरू सजिलै प्रलो भनमा पर्छन् र प्रतिकार गर्न सक्दैनन् । पीडकले बालसुलभताको फाइदा उठाउँदा उनीहरू शिकार हुन पुग्छन् ।’ प्रवक्ता पोखरेलका भनाइमा अपराध वा शोषण गरिसकेपछि पनि देखाइने त्रासका कारण वयस्क व्यक्तिलाई भन्दा तिनलाई चुप लगाउन सहज हुन्छ ।’