शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमको पर्यटन गुरुयोजना स्वीकृत, २५ लाख पर्यटक भित्र्याउने लक्ष्य

सुदूरपश्चिमको पर्यटन गुरुयोजना स्वीकृत, २५ लाख पर्यटक भित्र्याउने लक्ष्य

  • सोमवार, फाल्गुन २२, २०७९
सुदूरपश्चिमको पर्यटन गुरुयोजना स्वीकृत, २५ लाख पर्यटक भित्र्याउने लक्ष्य

धनगढी  –   सुदूरपश्चिम प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाले ‘सुदूरपश्चिमलाई आकर्षक, सुरक्षित तथा गुणस्तरीय पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने’ उद्देश्य लिएको छ। तर पर्यटन गुरुयोजनाअनुसार काम भने अझै सुरु भएको छैन्। गुरुयोजनाअनुसार काम नहुँदा सन २०३१ मा २५ लाख पर्यटक भित्र्याउन समस्या हुने देखिएको छ।

स्वदेश तथा छिमेकी मित्रराष्ट्रहरूको पर्यटकीय गन्तव्य लक्षित गरी पर्यटकीय सर्किटलगायतका पूर्वाधार विकास गर्ने उद्देश्य प्रदेशको पञ्चवर्षीय योजनाले राखेको छ। पर्यटनबाट लाभ लिन नसकेको सुदूरपश्चिम सरकारले पर्यटन क्षेत्रलाई पाँच वर्षमा समृद्धिको आधारस्तम्भका रूपमा अघि बढाउने उद्देश्य राखेको छ।

उद्देश्य पूरा गर्न पर्यटन गुरुयोजना बनाएर पर्यटन विकास र प्रवद्र्धन गर्ने रणनीतिअनुसार प्रदेश पर्यटन गुरु योजना पनि बनाइसकिएको छ। पर्यटन गुरुयोजना हालै मात्र स्वीकृत भएकाले नयाँ आर्थिक वर्षदेखि गुरुयोजनाअनुसार बजेट विनियोजन र कार्यक्रम तय गरिने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव वेदकुमार ढकालले बताए।

‘पर्यटन गुरुयोजना तयार भएर स्वीकृत समेत भइसकेको छ, आगामी आर्थिक वर्ष २०८०/८१ देखि गुरुयोजनाअनुसार बजेट विनियोजन र कार्यक्रम तयार पारेर अघि बढाउने योजना मन्त्रालयले बनाएको छ।’ प्रदेशका धार्मिक महत्वका मन्दिरहरूको सौन्दर्यकरण, पहुँचमार्ग निर्माण र पर्यटनस्तरका होटल तथा अतिथि गृह निर्माण गर्ने र त्यसको मार्केटिङ गर्नुपर्ने गुरु योजना र पञ्चवर्षीय योजनाले मार्ग निर्देशन गरेको छ।

गुरुयोजनाअनुसार प्रदेशमा पर्यटन गन्तव्यको विकास र प्रवद्र्धन गरेमा सन् २०३१/३२ सम्म सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशत योगदान वृद्धि गर्ने लक्ष्य राखिएको छ। कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान सुदूरपश्चिममा नगन्य छ। गुरुयोजनाले सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशत आन्तरिक पर्यटक २५ प्रतिशत भारतीय पर्यटक, २० प्रतिशत बाह्य मुलुकका पर्यटक र १५ प्रतिशत अन्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

सन् २०२५ मा ११ लाख ३० हजार र २०३१ मा २५ लाख ५ हजार पर्यटक भित्र्याउन सकिने लक्ष्य गुरुयोजनामा राखिएको छ। भारतीय पर्यटकको बसाइ चार दिनबाट वृद्धि गरी १० दिनसम्म र विदेशी पर्यटकको बसाइ १६ देखि २२ दिन पु¥याउने लक्ष्य राखिएको छ भने भारतीय पर्यटकको दैनिक खर्च गर्ने दर ७० देखि १ सय अमेरिकी डलर र विदेशी पर्यटकको दैनिक खर्च गर्ने दर १ सयदेखि १५० डलर पु¥याउने लक्ष्य गुरुयोजनाको छ। अहिले प्रदेशको पर्यटन गुरुयोजना अंग्रेजीमा भएकाले नेपालीमा रुपान्तरण गरेर सोहिअनुसार बजेट विनियोजन र कार्यक्रम बनाउन स्थानीय तहहरुमा पठाउने तयारी समेत भइरहेको मन्त्रालयका सचिव ढकालले बताए।

चर्चामा

सम्बन्धित समाचार