टेक बहादुर बुढा/बाजुरा–बाजुरामा ४ बर्षमा १० जना सुत्केरीको मृत्यु भएको छ । समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना र २०७९ मा २ जना सुत्केरीको मृत्यु भएको छ ।
२०७६ सालमा मृत्यु हुनेमा जगन्नाथ गाउपालिका ५ गोत्री बस्ने ३५ वर्षियका पुल्ती रावल, बडिमालिका नगरपालिका ७ जिल्लीकी बसन्ती नेपाली, बुढिनन्दा नगरपालिका १० पाण्डुसेनकी ३५ बर्षिय निर्मला बोहारा थिए । त्यस्तै त्रिवेणी नगरपालिका १ छताराकी ३७ वर्षकी रेजीया नेपाली, बुढिगंगा नगरपालिका ७ झालि बस्ने २० बर्षकि कमला उखेडको मृत्यु भएको थियो ।
२०७७ सालमा बुढिनन्दा नगरपालिका ४ कुरुमा २३ वर्षिया अम्बकला रोकायाकाको मृत्यु भएको थियो । सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा २३ वर्षिया रोकायाको बाटोमै मृत्यु भएको हो ।
२०७८ साल साउन महिनामा त्रिवेणी नगरपालिकाको किम्नीकी २० बर्षिय जौलादेवी बिकको बच्चा पाएको १० दिन पछि अत्याधिक रक्तस्राबको कारणले मृत्यु भयो । त्यस्तै हिमाली गाउँपालिका वडा नम्बर ४ तिथिचौर बस्ने २१ बर्षिय गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तस्राबका कारणले मृत्यु भएको थियो ।
२०७९ सालमा बाजुराको बुढिगंगा नगरपालिका ६ बस्ने २० बर्षकी नितु जैशीको दुइ महिना पहिला मृत्यु भएको थियो । बडिमालिका नगरपालिका १ पिनालेख बस्ने रमेश बिककी २६ बर्षिय श्रीमति जानकी विक लुवारको सुत्केरी हुन नसकि डेढ हप्ता पहिला बाटोमा मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराले रेफर गरेकी जानकीलाई बस चढाएर महेन्द्रनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको श्रीमान रमेशले वताएका छन् ।
मृत्यु भएकि १० मध्ये सुत्केरी ७ जनाको स्वास्थ्य संस्थामा, एकजनाको घरमा र दुइ जनाको धनगढी लैजादै गर्दा बाटामो मृत्यु भएको थियो । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काका भनाइमा, चार बर्षमा १० सुत्केरीको मृत्यु हुनुले यहाँको समाजको चेतना स्तर देखाउने बताए ।
गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपु¥याउँदाको परिणाम भएको खड्काको भनाइ छ । अर्को सुत्केरी भएको बेला आरम गर्न नपाउने, पोषिलो खानेकुरा नपाउँने, कडा परिश्रम गर्नुपर्ने वाध्यताले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको उनले वताए ।
हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिलाको ज्यान जानेक्रम रोकिएको छैन । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख हुनु जस्ता कारणले हवाइ उद्धार कार्यक्रम पनि प्रभावकारी हुनसकेको छैन ।
नेपालीको औषत आयू ६९ बर्ष छ । तर, बाजुराका बासिन्दाको आयू ५९ बर्ष मात्रै छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरुको अवस्था झनै दर्दनाक छ । जिल्लाको गरिबिकै कारणले अधिकांश बाजुरेलीको आयु कम र अस्वस्थ हुने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाह बताउँछन् ।
बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुवरका भनाइमा, ‘आमा गर्भवती हुँदा पेट भित्रको बच्चालाई रगत मार्फत पौष्टिक तत्व चाहिन्छ । यस्तो अवस्थामा आईरन र फोलिक एसिडको कमि भएमा आमामा रक्तअल्पता हुन्छ । रक्तअल्पता पनि कुपोषणको एउटा जटिल अवस्था हो ।’
उनी भन्छन, ‘सुत्केरी हुने दौरानमा केहि मात्रामा रक्तश्राव हुन्छ । बाजुरा जस्तो हिमाली र पहाडी जिल्लाहरुमा अत्याधिक रक्तश्रावले गर्दा मातृ मृत्युदर भएको देखिन्छ । पहिल्यैदेखि कुपोषित आमा त्यसमा पनि अत्याधिक रक्तश्राव भएमा आमा र बच्चाको ज्यान थप जोखिमपूर्ण हुन्छ ।’