• होमपेज
  • राजनीति
  • पूरानो गठबन्धन ब्युँताउने प्रचण्डको अन्तिम तयारी, आजै साँझ चार दलका नेता बालुवाटारमा भेला हुँदै

पूरानो गठबन्धन ब्युँताउने प्रचण्डको अन्तिम तयारी, आजै साँझ चार दलका नेता बालुवाटारमा भेला हुँदै

  • सोमवार, फाल्गुन ८, २०७९
पूरानो गठबन्धन ब्युँताउने प्रचण्डको अन्तिम तयारी, आजै साँझ चार दलका नेता बालुवाटारमा भेला हुँदै

काठमाडौं  –  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचनअघिको गठबन्धन ब्युँताउने पक्षमा पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दाहाल पूरानै गठबन्धन ब्यँुताउनेगरि अघि बढेका छन् । त्यसको लागि उनले आज साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने तयारी गरेका छन् ।

हिजोमात्रै दाहालले शेरबहादुर देउवा, माधव कुमार नेपाल र उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । साँझ कांग्रेस सभापति देउवासहित नेताहरु गगन कुमार थापा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्कासँग पनि प्रचण्डले सामूहिक भेटवार्ता गरेका थिए । सो भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको थियो ।

कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफूहरुले उठाउने उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले कांग्रेसको प्रस्तावलाई सकारात्मक रुपमा लिएको भन्दै आज पदाधिकारी बैठकमार्फत छलफल चलाउने वचन दिएका छन् । पुष १० गते सरकारको नेतृत्वको लागि दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउने भनिएको छ ।

तर, माओवादी केन्द्रका नेताहरुले भने त्यस्तो सहमति नभएको दाबी गर्दै आएका छन् । सभामुख भने एमालेबाट देवराज घिमिरे निर्वाचित भैसकेका छन् । अढाई वर्षपछि ओली प्रधानमन्त्री बन्ने सहमति छ । अहिले राष्ट्रपतिपनि एमालेले पाउँदा शक्ति सन्तुलनमा एमाले हाबी हुने भय दाहालमा छ । प्रचण्ड कुनैपनि हालतमा एमालेलाई राष्ट्रपति दिने पक्षमा छैनन् । उनले आजै साँझबाट पूरानो गठबन्धन ब्यँुताउने तयारी गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार