बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • सुदूरपश्चिममा झण्डै दुई हजार शिशुको गर्भमै मृत्यु

सुदूरपश्चिममा झण्डै दुई हजार शिशुको गर्भमै मृत्यु

  • शुक्रबार, फाल्गुन ५, २०७९
सुदूरपश्चिममा झण्डै दुई हजार शिशुको गर्भमै मृत्यु

धनगढी –  सुदूरपश्चिममा शिशु नजन्मिदै मर्ने क्रम घट्न सकेको छैन। प्रदेशमा समयमै प्रसूति सेवा नपाएर शिशु नजन्मदै मर्ने दर उच्च छ।

यस्तै, महिलाको कमजोर स्वास्थ्यका कारण पनि हरेक वर्ष आमाको गर्भमै शिशुको प्राण जाने घटना भइरहेका छन्। आधारभूत स्वास्थ्य सेवा प्रभावकारी नहुँदा र नियमित गर्भावस्थामा चेकजाँच नगरिँदा जन्मपूर्व नै शिशु मर्ने गरेका छन्। कैलालीमा आमालाई प्रसूति व्यथा लागेपछि गर्भमै शिशुको मृत्यु हुने संख्या सबै भन्दा बढी छ भने दार्चुलामा सबैभन्दा कम शिशुको मृत्यु हुने गरेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ।

स्वास्थ्य अधिकारीले मुख्य दुई कारणले प्रसूति व्यथा लागेपछि जन्म नहुँदै शिशुको मृत्यु हुने बताएका छन्। आमाको स्वास्थ्यमा देखापर्ने समस्या जस्तै कुपोषण, संक्रामक तथा दीर्घ रोगका कारण शिशु गर्भावस्थामै मर्ने जोखिम हुन्छ। यस्तै, स्वास्थ्य सेवा चुस्तदुरुस्त नहुँदा र समयमै सुरक्षित सुत्केरी हुने वातावरण नमिल्दा पनि आमाको पेटमै शिशुको मृत्यु हुने गरेको छ।

सबैभन्दा बढी शिशुको जन्मपूर्व मृत्यु हुने कैलाली जिल्लामा गएको तीन वर्षमा ६२७ शिशुको मृत्यु आमा र शिशुको स्वास्थ्यमा समस्या हुँदा भएको छ। दोस्रो बढी जन्मपूर्व शिशुमृत्यु भएको अछाममा तीन वर्षमा १४२ शिशुको गर्भमै मृत्यु भएको छ। यसैगरी, गएको तीन वर्षमा आमा तथा शिशुको स्वास्थ्यमा देखा परेकको समस्याले डडेल्धुरामा १३३, कञ्चनपुरमा १०२, बैतडीमा ११७, डोटीमा ९३, बझाङमा ७६ र सबैभन्दा कम दार्चुलामा ४३ शिशुको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।

सबै जिल्लामा अघिल्ला वर्षभन्दा पछिल्लो वर्षमा मृत शिशु जन्मने संख्या उल्लेख्य रुपमा घट्नुपर्नेमा घट्न सकेको छैन। प्रदेशमा स्वास्थ्य सेवा चुस्तदुरूस्त नहुँदा पनि सुत्केरी व्यथा लागेपछि बच्चा नजन्मदै शिशुको मृत्यु हुने गरेको छ। समयमै स्वास्थ्य सेवा नपाउँदा कैलालीमा गएको तीन वर्षमा १५८ शिशुको मृत्यु प्रसूति व्यथाको क्रममा भएको छ। यसरी शिशुको मृत्यु हुनेमा अछाम जिल्ला दोस्रो छ।

अछाममा गएको तीन वर्षमा १४६ शिशुको नजन्मदै मृत्यु भएको तथ्याङ्कले देखाएको छ। यसैगरी तीन वर्षमा डडेल्धुरामा ७९, बझाङमा ६२, दार्चुलामा ५९, डोटीमा ५८, बैतडीमा ५३ र बाजुरा ५० शिशुको प्रसूति व्यथाको क्रममा मृत्यु भएको छ। स्वास्थ्य सेवा प्रभावकारी नहुँदा पनि हरेक वर्ष प्रदेशका सबै जिल्लामा प्रसूति व्यथा लागेपछि सही उपचार नपाउँदा आमाले मृत शिशु जन्माउनुपर्ने बाध्यता छ।

दुर्गम बस्ती र गाउँमा एम्बुलेन्सको अभाव, सही स्वास्थ्य परामर्श, नियमित गर्भावस्थाको चेकजाँच नहुँदा, अस्पतालमा पुग्ने बित्तिकै उपचार सेवा नपाउने कारणले हरेक वर्ष शिशुको मृत्यु जन्मन नपाउँदै हुने गरेको छ। सुदूरपश्चिममा गएको तीन वर्षमा १ हजार ८ सय ७२ शिशुको सुत्केरी व्यथाको क्रममा भएको स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कले देखाएको छ।

चर्चामा

सम्बन्धित समाचार