• होमपेज
  • राजनीति
  • रास्वपा सांसदको प्रश्न- बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन मिल्छ ?

रास्वपा सांसदको प्रश्न- बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन मिल्छ ?

  • बुधबार, फाल्गुन ३, २०७९
रास्वपा सांसदको प्रश्न- बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन मिल्छ ?

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले नेपाली क्रिकेट टोलीमा नाबालिग बलात्कारका आरोपित सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमको सदस्य बनाएकोमा प्रश्न उठाएकी छन् । उनले नेपाली टोलीमा बलात्कारका आरोपित रहनुले राष्ट्रसामु प्रश्न उठाएको बताइन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद श्रेष्ठले बलात्कारका आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउने र न्याय निरुपणमा भएको ढिलाइले पीडितलाई मानसिक आघात पुगेको पनि बताइन् । ‘न्यायपालिकाको काम चुस्त‚ दुरुस्त र पारदर्शी हुनुपर्‍यो । सबैको पहुँचमा हुनुपर्‍यो । त्यसो नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजन हुन थालिसकेको छ । सन्दीप लामिछानेको मुद्दा हेरौं, त्यो कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो ?’ उनले भनिन् ।

राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्यीकरण गर्न नमिल्ने भन्दै उनले भनिन्‚ ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? पीडितहरूलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ । आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडकको मानसिक अवस्था कस्तो होला ?’

बलात्कारको आरोपितलाई राष्ट्रिय टोलीमा रहँदा पीडकको सुरक्षा, मानसिक र सामाजिक अवस्था कस्तो होला भनेर उनले प्रश्न गरेकी थिइन् ।

त्यस्तै सांसद श्रेष्ठले जनगणना सकिएको महिनौं सकिँदा पनि प्रतिवेदन नआउनु गम्भीर विषय भएको बताइन् । उनले भनिन्, ‘तथ्यांक, आँकडा नै नभएको अवस्थामा केको आधारमा नीति निर्माण गर्ने ?’

चर्चामा

सम्बन्धित समाचार