टर्की र सिरिया गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ। अघिल्लो साता टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको हो।
यो सङ्ख्या अझै बढ्न सक्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको खबर बीबीसीले लेखेको छ। राष्ट्र सङ्घका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या अहिलेको भन्दा दोब्बर हुनसक्ने चेतावनी दिएका हुन्।
विनासको स्तर निकै उच्च भएका कारण भत्किएका संरचनाको भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार अझै एक हप्तासम्म हुनसक्ने देखिएको छ। तर तीव्र हिमपात, चिसो मौसम, पिउने पानी, विद्युत र संचारको अभावले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने अनुमान त्यहाँका अधिकारीले गरेको खबरमा उल्लेख छ।
राष्ट्र सङ्घका अनुसार सिरियामा भूकम्पपछि थप ५३ लाख मानिस घरबारबिहीन भएका छन् भने टर्की र सिरियामा करिब ९ लाख मानिसलाई तत्काल तातो खानाको आवश्यकता रहेको छ। उद्धारकर्ताले अझै ठूलो संख्यामा मानिसहरु पुरिएको हुनसक्ने बताउँदै आएका छन्।